PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

रानीपोखरीमा दिनभर रमिता, दलबलसहित ताला तोड्न मेयर नै पुगे



नेत्र तामाङ

काठमाडौं :  मंगलबार दिउँसो १ बजे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दलबलसहित रानीपोखरी पुगे। रानीपोखरी प्रवेशद्वारमा ताला लागेको थियो।

महानगर प्रहरीको डफ्फा र सुरक्षाकर्मीसहित पुगेका मेयर शाक्यले तुरुन्तै उपमेयर हरिप्रभा खड्गीलाई फोन गरे र सोधे, ‘ताला किन लगाउनुभएको?’

जवाफमा खड्गीले भनिन्, ‘मैले किन ताला लगाउनुपर्यो मेयरसा’ब, म त अवलोकन गरेर आएकी हुँ।’

मेयर शाक्य नेकपा एमाले र उपमेयर खड्गी नेपाली कांग्रेसबाट निर्वाचित पदाधिकारी भएकाले पनि रानीपोखरीमा एमाले र कांग्रेसबीचको विवादका रुपमा लिइँदै आएको छ।

उपमेयर खड्गीले अघिल्लो दिन आफू अवलोकनमा जाने बताएकीले मेयर शाक्यले उनीमाथि शंका गरेका थिए। तर खड्गीले ताला लगाएको अस्विकार गरेपछि मेयर अकमक्क परे।

ताला कसले लगाए त ? गेटमा सेतो कागज टाँसिएको थियो। त्यसमा ठूलो अक्षरमा लेखिएको थियो–सम्पदामाथि भएको अतिक्रमणको विरोधमा तालाबन्दी।

तल सानो अक्षरमा–सम्पदा प्रेमी काठमाडौंबासी।

फोन राखेपछि मेयर शाक्यले तुरुन्तै ताला फोड्न लगाए र भित्र पसे। मन्दिर परिसर पुगेर सञ्चारकर्मीसँग कुरा गरे।

मन्दिर परिसरमा मेयर शाक्यले भूकम्पपछि पुनर्निर्माणको चरणमा रहेको रानीपोखरी निर्माण चाँडो सकाउन आफूले ठेकेदारलाई दवाव दिइरहेको दावी गरे।

सम्पदा सबैको भएकाले यसको निर्माण चाँडै सकाउन आफू लागिपरेको र पुरातत्वसँग छलफल गरेर चाँडै निर्माण अघि बढाउने शाक्यले जानकारी दिए।

पुरातत्वसँग कहिले हुन्छ त छलफल ? शाक्यले भने,‘अब तत्काल नै छलफल हुन्छ। सम्पदालाई संरक्षित गर्दै रानीपोखरीको अझै सौन्दर्य बढाउछौं।’

पोखरी सानो बन्न लागेको भन्ने विषय विवादको चुरो भएको र यसमा कुनै सत्यता नभएको शाक्यले दावी गरे। उनले पोखरी पुरानै आकारमा बन्ने स्पष्ट पारे।

लगत्तै काठमाडौं महानगरपालिका महाशाखा प्रमुखसमेत रहेका इन्जिनियर सुरेशकुमार राईले पोखरी पुरानै आकारमा निर्माण हुन लागेको जानकारी दिए। राईले भने,‘यहाँको आकारमा कुनै गडबडी हुने छैन। पोखरी पुरानै आकारमा बन्दैछ।’

ताला मैले लगाएको हैन : हरिप्रभा खड्गी, उपमेयर


ताला कसले लगाएको हो त?  यसबारे पहिलोपोस्टले उपमेयर हरिप्रभा खड्गीसँग बुझ्दा बिहान १० बजे आफू अवलोकनका लागि पुगेको र ताला नलगाएको दाबी गरिन्।

उपमेयर खड्गीले भनिन् ‘म पुग्दा कुनै ताला लागेको थिएन। मैले लगाएको पनि होइन। म पुग्दा त त्यहाँ वडाको बाहेक अरु मान्छे पनि थिएन।’

ताला तपाईँले लगाउनुभएको भन्ने आरोप छ नि? जवाफमा खड्गीले भनिन्, ‘मैले ताला किन लगाउनु? मेयरसँग यसबारेमा छलफल गर्न सकिहाल्छु नि। ताला लगाउनुपर्ने कारणै छैन।’

त्यसो भए काम चाहि किन रोक्नुभयो त? ‘पुरतत्वसँग सल्लाह नगरी काम अघि बढेको देखियो। त्यसैले मैले काम रोकेको हुँ। विज्ञसँग छलफल गरेर काम अघि बढ्छ। यसमा मेयर सा’ब पनि राजी हुनुहुन्छ।’


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell