काठमाडौं : एनसेलको डिभिडेन्टले सेयर बजार साढे २० अंकले झरेको छ। सर्बोच्च अदालतले एनसेललाई डिभिडेन्ट लैजान बाटो खोलिदिएपछि ७५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट झिकिने मनोविज्ञानका आधारमा बजार झरेको हो।
रेमिटेन्स बृद्धि ऋणात्मक भएको अवस्थामा एनसेलको डिभिडेन्टले तरलता अभाव थप चर्किएर ब्याज दर उक्लिन विश्लेषण लगानीकर्ताको छ।
बजार विश्लेषक बलराम रिमालले रेमिटेन्ट घट्दो दरमा रहेका बेला एनसेलको लाभांशले लगानीकर्तालाई थप समस्यामा परेको बताए। 'बैंकहरुले ब्याज दर घट्ने बताइरहँदा रेमिटेन्सको तथ्यांक ऋणात्मक आयो,' उनले भने, 'एनसेलले पनि लाभांश वापत ठूलो रकम लैजाँदा तरलता अभाव बढेर ब्याज दर उल्टो बढ्ने देखियो।'
नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष आत्मराम घिमिरेले बैंकले ब्याज दर बढाउन थालेका कारण पनि बजार ओरालो लागेको जानकारी दिए।
'हिजोअस्तिबाट एसएमएसमार्फत् ब्याज बढेको सुचना पठाउन थालेका छन्,' उनले भने, '१२ प्रतिशतको शेयर कर्जा १५ प्रतिशत पुगेका कारण बजार ओरालो लागेको हो।'