
- टेक शाही
वर्षौ देखि खोलाको पानी पिउन बाध्य दलित वस्तीमा मिटर सहितको धारा पुगेपछि उनीहरुको तीन घण्टा हिडेर पानी बोक्नुपर्ने समस्याको अन्त्य भएको छ।
नेपाल रेडक्रस सोसाईटी, सामुदायीक स्वास्थ्य खानेपानी तथा सरसफाई स्वच्छता परियोजना (सिएचपी) को आर्थिक सहयोगमा ६ महिनामै आयोजना तयार भएको हो।
२४ लाख २१ हजार ९४७ रुपैयाँ लागतमा निर्माण भएको खानेपानी आयोजनाबाट डोल्पाका रम्फुदोविच्यानका ३१ घरधुरीले घरैमा स्वच्छ खानेपानी पाएको नेपाल रेडक्रस सोसाईटी डोल्पाका संयोजक टेकम ओलीले जानकारी दिए।
६ लाख रुपैयाँ बढीको सामुदायीक श्रमदान सहित रेडक्रसको १६ लाख १७ हजार, जिल्ला खानेपानी तथा सरसफाई कार्यलयको एक लाख रुपैयाँ र गाउँविकास समितिबाट एक लाख रुपैयाँ सहयोगमा आयोजना तयार भएको हो।
रम्फुदोविच्यानमा बस्दै आएका दलित समुदायको माग सरकारी निकायले वर्षौ देखि नसुनेको बेला रेडक्रस सोसाइटी, स्वास्थ्य प्रवर्द्धनका लागि सामुदायीक शसक्तिकरण कार्यक्रम नेपालगञ्जले ६ महिना अघि आयोजना बनाउने सम्झौता गरेको थियो।
‘खानेपानी पाएपछि स्थानीयहरुमा खुसीको सिमानै छैन’ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष विषचन्द्र कार्कीले भने। २ किलोमिटर टाढा उकालोबाटोमा ३ घण्टा लागएर पानी बोक्नु पर्ने समस्याको अन्त्य भएकोमा उपभोक्ता हरिबहादुर बिकले खुसी व्यक्त गरे।
शुद्धखानेपानी पनि नपाईरहेको बेला मिटरसहितको धारा पाएपछि हिराधुनी बिक दङ्ग परेकी छिन्। सरकारी निकायले आवाज नसुनेको बेला रेडक्रसको मूख्य आर्थिक सहयोगमा आयोजना निर्माण भएको हो।
समुदायको सहभागीतामा निर्माण गरिएको खानेपानी आयोजना जिल्लाकै नमुना आयोजना भएको कार्कीले दावी गरेका छन्।