
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच तत्काल पार्टी एकता हुने बताएका छन्।
बुधबार रिपोर्टर्स क्लबमा महतोले फोरमसँग एकता प्रक्रिया तत्काल सुरु गर्ने बताए। उनले भने,‘राजपा र फोरमबीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ।’
उनले ६ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँगपनि एकता हुनेमा शंका नगर्न आग्रह गरे।
त्यस्तै उनले २ नम्बर प्रदेशमा राजपा र फोरम गठबन्धनको सरकार बनाउनेसमेत बताए। उनले भने,‘मुख्यमन्त्री दुई वटा पार्टीमध्ये एउटाबाट बन्नुपर्छ, फोरमबाट बन्दापनि ठिकै छ, हामीलाई कुनै आपत्ति छैन, उहाँहरुको नै बढी सिट छ।’
महतोले आफूहरुको ध्यान सरकार बनाउनेतिर नभएकोसमेत जिकिर गरे। उनले भने,‘केन्द्रीय सरकार बनाउनेतिर हाम्रो कुनै चासो र ध्यान छैन, हामी त संविधान संशोधनको पक्षमा छौं, संशोधन नहुञ्जेलसम्म हामी आन्दोलनमै रहन्छौं, संघर्ष गर्छौं।’
महतोले संविधान संशोधनको पक्षमा जुन पार्टी आउँछ त्यसलाई केन्द्रीय सरकारमा आफूहरुको समर्थन रहने बताए।
त्यस्तै, महतोले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने बताए। उनले भने,‘संविधान अनुसार नै अध्यादेश अघि बढाउनुपर्छ, अध्यादेश रोकेर प्रक्रिया नै अवरोध गर्नुहुँदैन, यही कुरा हामीले राष्ट्रपतिज्यूसँगको भेटवार्तामा उहाँलाई सल्लाहसमेत दिएका छौं।’