PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

इपीएल : पोखरालाई पराजित गर्दै ललितपुर क्वालिफायरमा



पहिलोपोस्ट

इपीएल : पोखरालाई पराजित गर्दै ललितपुर क्वालिफायरमा

काठमाडौं : पोखरा राइनोजलाई पराजित गर्दै ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो क्वालिफायरका लागि छनोट भएको छ। बुधबार भएको एलिमिनेटर खेलमा ललितपुरले पोखरालाई २७ रनले पराजित गरेको हो। १३९ रनको लक्ष्य पछ्याएको पोखराले अलआउट हुँदै १११ रन मात्र बनाउन सक्यो।  

ललितपुरले अब बिहीबार हुने दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा विराटनगर वारियर्ससँग पराजित भएपछि भैरहवाले फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो।

कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३८ रन बनाएको थियो। ललितपुरका लागि सन्नी पटेलले नटबउट ३८ रन बनाए।

पहिलो विकेटका लागि जयकिसन कोल्सावाला र शंकर रानाले ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। शंकरले ३४ तथा  कोल्सावालाले २८ रन जोडे। तर थप १६ रन जोड्ने क्रममा ललितपुरले शंकर र कोल्सावालासहित ५ विकेट गुमाएको थियो। ललितपुरलाई मध्यम स्कोरतर्फ डोहोर्‍याउन सन्नी पटेल र दिपेश भण्डारीले छैटौँ विकेटका लागि ६२ रनको साझेदारी गरे। सन्नी पटेल २६ बल खेल्दै २ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ३८ रन बनाए। यस्तै दिपेश भण्डारी १९ रनमा नटआउट रहे।  

बलिङमा पोखराका इस्रारउल्लाहले ३ तथा सुशन भारीले २ विकेट लिए।

जवाफमा पोखराले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रन बनायो। पोखराले पहिलो ओभरमै ओपनर सुनिल धमलालई २ रनमा गुमाएपछि निरन्तर विकेट गुमायो। पोखराका लागि इस्रारउल्लाहले सर्वाधिक २५ रन बनाए। यस्तै किशोर महतोले २३ तथा सुशन भारीले १७ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। किशोर ताज वालीले दशौँ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए।

ललितपुरका सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै किफायती बलिङ गरेका सन्नी पटेल र पवन सराफले २-२ विकेट लिए। ४ ओभर बलिङ गरेका दुवैले १२ रन मात्र खर्चे। पवनले एक मेडन समेत राखेका थिए। रसिद खानले पनि २ विकेट लिए।
 

जितपछि ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले योजना अनुसार नै सबैले राम्रो खेलेको प्रतिक्रिया दिए। 'हामी अझै ५/१० रनले कम थियौँ। हाम्रो मिडल पार्टमा जुन बिगारेका थियौँ तर फिनिसिङमा राम्रो गर्‍यौँ।'

'यो विकेटमा १४० को स्कोर डिफेन्ड गर्न सकिन्छ भनेर नै खेलेका थियौँ। हामीले विपक्षीको विकेट झार्दै रन पनि रोक्यौँ र जित सम्भव भयो।' 'सजिलो जित जस्तो देखेर लास्टमा खेलाडीहरुले जुत हतार गरे त्यसो नहुनुपर्ने हो।'

टप अर्डरले प्रदर्शन गर्न नसक्नु नै हारको कारण रहेको पोखराका कप्तान शक्तिले स्वीकार गरे। 'हाम्रो अर्डर चल्न नसकेपछि मिडल अर्डरले पनि रेस्पोन्सिबल देखाउन सकेन।' शक्तिले कमजोरी औँल्याए। 'आज मात्र नभएर पूरै प्रतियोगिताभरी इस्रार र सुनिल बाहेक अरुले राम्रो गर्न सकेनन्।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell