
- नेत्र तामाङ र पासाङ ठकुल्ला -
राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसँगै उभिएर निर्वाचनमा तालमेल गरी जाने र निर्वाचन लगत्तै पार्टी एकता हुने सहमतिसमेत भयो।
निर्वाचनको मुखमा टिकट बाँड्दै गर्दा मुख्य कम्युनिस्ट शक्ति एमाले र माओवादीबीच ६ बुँदे सहमति पत्रसहितको यस निर्णयलाई ‘सरप्रइज’का रुपमा लिइयो।
कांग्रेसलगायत कतिपय राजनीतिक दलले भने तालमेलको समाचार फैलन नपाउँदै निर्वाचनसम्ममा यी दुर्इ शक्ति फुट्ने दावी गरेका थिए।
उनीहरुको दावीलाई चिर्दै एमाले र माओवादीमात्र हैन वाम गठबन्धनमा जनमोर्चा, नेपाल परिवार दल, मुस्कान सेना पार्टीलगायत राष्ट्रिय जनता पार्टीका हृदयेश त्रिपाठीसमेत वाम तालमेलमा सहभागी भए।
निर्वाचनमा एमालेलाई ६० प्रतिशत र माओवादीलाई ४० प्रतिशत नीति लिएर तालमेलसहितको टिकट बाँडफाँट गरियो।
निर्वाचनमा वाम गठबन्धनले राम्रो मत पनि पायो। प्रतिनिधिसभामा एमालेले प्रत्यक्षमा ८० सिट जित हासिल गर्यो भने माओवादीले ३६। प्रतिनिधिसभातर्फ समानुपातिकको मतपरिणाम भने निर्वाचन आयोगले सार्वजनिक गरेको छैन।
प्रदेशसभातर्फ प्रत्यक्षमा एमालेले १६८ सिट र माओवादीले ७३ सिट पाएको छ। समानुपातिकमा एमालेले ७५ र माओवादीले ३५ सिट प्राप्त गरेको छ।
निर्वाचन परिणाम सम्पन्न भएसँगै अब पार्टी एकता चाँडै हुनुपर्ने आवाज दुर्इ दलका नेताहरुले उठाउन थालेका छन्।
असोज १८ मा गरेको सहमतिको बुँदा नम्बर २ मा पनि‘‘प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपश्चात विधिवत पार्टी एकता सम्पन्न गर्ने’ भनी उल्लेख गरिएको छ।
सोही बमोजिम पार्टी एकताका लागि एकता संयोजन समिति गठनसमेत भइसकेको छ। तर, पार्टी एकता संयोजन समितिको बैठक भने बस्न सकेको छैन। पुस ८ गते बस्ने भनिएको पहिलो बैठक नबसेपछि दुई पार्टीका अध्यक्षबीच मंगलबार छलफल हुने भनिएको थियो। माओवादी अध्यक्ष प्रचण्ड चितवनबाट ढिला फर्केका कारण हिजो तय गरिएको बैठक हुन सकेन।
भेट बुधबारमात्र भयो। भेटमा दुई शीर्ष नेताबीच एकता संयोजन समितिको बैठक एकदुई दिनभित्रै हुने सहमति भएको छ। निर्वाचन लगत्तै हुने भनिएको एकता ढिला भइरहँदा एमाले र माओवादीमासमेत असन्तुष्टिहरु पोखिन थालेका छन्।
पार्टी एकतामा ढिलाइ के कारणले ? यसैबारेमा हामीले हालै निर्वाचित प्रतिनिधिसभाका सदस्यहरुसँग सोधेका थियौंः के एमाले र माओवादीबीच एकता सम्भव नभएको हो ? यदि एकता हुने हो भने के ले रोकेको छ ?
प्रस्तुत छ निर्वाचित सदस्यहरुको भनाईः
धैर्यताको खाँचो छ, अझै पूर्व तयारी जारी छ : रवीन्द्र अधिकारी, नेता, नेकपा एमाले

दुई पार्टी एक हुने विषयमा त कुनै शंका नै रहेन। जनताले अत्याधिक मतले अनुमोदन गरिसकेकाले दुई पार्टी एक हुनैपर्छ। स्थायित्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता अतिआवश्यक छ।
एउटा पार्टीभित्र त अनेकन विवाद हुन्छ। यो त दुर्इवटा पार्टीबीचको एकता हुन लागेको हो। त्यसैले धैयर्ताको पनि खाँचो छ। कमिटी कसरी बनाउने, सरकारमा कसको जिम्मेवारी के हुने, पार्टीमा वैचारिक विषयहरु कसरी मिलाउने, जिम्मेवारी के हुने भन्नेबारेमा अझै पनि बहस जारी छ।
केही साथीहरुले विरोध पनि गर्नुभएको सुनियो। उहाँहरुको विषय पनि सम्बोधन हुनुपर्छ। सम्बोधन गर्दागर्दै कोही छुट्छन् भने त्यो उहाँहरुकै भूल हुनेछ। पार्टी एकता हुन्छ भन्ने कुरामा सबै ढुक्क हुन मेरो आग्रह छ।
निर्वाचनको पूर्ण परिणाम आइसकेको छैन निः हितबहादुर तामाङ, नेता, माओवादी केन्द्र

केही साथीहरुले अल्पमत बहुमतको विषयलाई पनि उठाउनु भएको छ। यो भनेको प्राविधिक कुरा हो। यो बहसबाटै टुंगो लाग्छ। जसले पार्टी एकता चाहेका छैनन् उनीहरु जनताबाट टाढिन्छन्।
अहिले कार्यकर्ता लेभलबाट पनि पार्टी एकताका लागि सुझाव दिन सुरु गरेका छन्। कार्यकर्ताको सुझाव पनि समेट्नुपर्यो। निर्वाचनको पूर्ण नतिजा पनि त आएको छैन।
यस्तो अवस्थामा पनि जनताले वाम गठबन्धनमा रहेका दलहरुबीच चाँडोभन्दा चाँडो एकता होस् भन्ने चाहेका छन्। संविधान कार्यन्वयनको विषयलाई पनि ख्याल राखेर पार्टी एकता र सरकार गठन होस भन्ने हाम्रो चाहना हो।
एकता हुन नसके कम्युनिष्ट पार्टीहरु सकिन्छन्ः प्रेमबहादुर आले, नेता, नेकपा एमाले
.jpg)
देशको विकास र समृद्ध नेपालको लागि एकता हुनु छ। यस विषयमा पार्टीभित्र छलफल भैरहेको छ। वाम एकता हुन्छ। एकता हुन सकेन भने कम्युनिष्ट पार्टीहरु सकिन्छन्।
मेरै कुरा गर्ने हो भने पनि म अल्पसंख्यक जातिको मान्छे हँ। डोटीमा मेरो जातिको मानिस २ प्रतिशत जतिमात्र छन्। विगतमा मैले विकास निर्माणमा खेलेको भूमिका र वाम गठबन्धनको कारणले जित सुनिश्चित भयो। यसको अर्थ देशको समृद्धि र विकासका लागि कम्युनिस्ट पार्टीहरुको एकता आवश्यक छ भन्ने हो।
पार्टी एकताको लागि दवाव दिइरहेको छुः सन्तकुमार थारु, नेता, माओवादी केन्द्र

संविधानमा व्यवस्था भए बमोजिम समाजवाद उन्मुख राष्ट्र निर्माण, विकास र समृद्धिका लागि पार्टी एकताको आवश्यक छ। पार्टी एकता ऐतिहासिक आवश्यकता पनि हो। जनताको मत पनि यही छ। कम्युनिस्टहरुको लक्ष्य, उद्देश्य र देशको आवश्यकता पूरा गर्न पार्टी एकता हुनै पर्छ।
पार्टी एकताको मोडालिटीसहित पार्टी एकता संयोजन समितिको बैठक तुरुन्त बसेर पार्टी एकताको प्रक्रिया अघि बढाउन म आफैंले पनि दवाव दिइरहेको छु।