PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एनसेलले लाभांश लैजाने भएपछि बैंकहरुमा खैलाबैला, कसले कति ब्याजमा कति रकम मागे?



सुदर्शन सापकोटा

एनसेलले लाभांश लैजाने भएपछि बैंकहरुमा खैलाबैला, कसले कति ब्याजमा कति रकम मागे?

काठमाडौं : एनसेलले लाभांश बापतको रकम लग्ने जानकारी गराएपछि बैंकहरुले महँगो ब्याज कबुलेर पैसा उठाउन थालेका छन्। एनसेलको खाता रहेको नबिल बैंकले १३.०२ प्रतिशतमा साढे २ अर्ब रुपैयाँ उठाउने प्रस्ताव नेपाल टेलिकमलाई गरेको छ।

सर्वोच्च अदालतले एनसेललाई लाभांश लैजाने बाटो खोलिदिएपछि ठूलो रकम बोकेर बसेको नबिल बैंक आत्तिएको हो। एनसेलले चार आर्थिक वर्षको लाभांश लैजान बाँकी छ। यसअघि २०६८/६९ को लाभांश वापत ८ अर्ब ३६ करोड रुपैयाँ लगेको थियो। त्यसपछि लाभांश रोकिएको थियो। अदालतले लाभांश लैजान बाटो खोलिदिएपछि उसले सम्बन्धित बैंकहरुलाई रकम तयार पार्न भनिसकेको छ।

टेलिकम स्रोतका अनुसार, नबिलपछि बढी रकम नेपाल एसबिआइ बैंकले उठाउन प्रस्ताव गरेको थियो। बैंकले ११.७५ प्रतिशत ब्याज दरमा दुई सय करोड रुपैयाँ उठाउन खोजेको हो। नबिलपछि ब्याज बढी कबुल गर्नेमा एनएमबी बैंक छ। बैंकले १२.८१ प्रतिशत ब्याजमा एक सय करोड उठाउने प्रस्ताव गरेको छ।
 
सबैभन्दा कम रकम कबुल गर्ने हिमालयन बैंक छ। बैंकले २५ करोड रुपैयाँ साढे ९ प्रतिशत ब्याजमा मागेको छ। ८ वटा बैंकले एक/एक सय करोड रुपैयाँका लागि प्रस्ताव हालेका थिए। एनएमबीसँगै ग्लोबल आइएमइ, प्रभु, सनराइज, एनसिसी, एनआइसी एसिया, कृषि विकास बैंक, मेगा बैंकले एक/एक सय करोडका दरले  प्रस्ताव हालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell