
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको राखेप च्याम्पियनसिपअन्तर्गत विभिन्न खेलमा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई राखेपले नगद पुरस्कार दिने भएको छ।
व्यक्तिगत स्पर्धामा कीर्तिमान रच्नेलाई राखेपले १५ हजार नगद पुरस्कार उपलब्ध गराउने राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए। त्यस्तै टिमतर्फ उत्कृष्ट घोषित हुने खेलाडीलाई पनि १५ हजार नगदबाट पुरस्कृत गरिने छ।
अमृत र छिरी क्वाटरफाइनलमा
पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका छिरी लामा राखेप च्याम्पियनसिप-२०७४ अन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
अमृतले मध्यमाञ्चलका विजय मगरलाई ११-५, ११-३, ११-६ तथा छिरीले नेपाल प्रहरी क्लबका ज्ञानु चौधरीलाई ११-७, ११-५, ११-७ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धामा प्ररहीका दीपक थापाले मध्यमाञ्चलका सुगम तुल्सानलाई १४-१२, ११-८, १३-११, पश्चिमाञ्चलका पदमबहादुर थापाले प्रहरीका अमिर ब्लोनलाई ११-२, ११-४, ११-९ तथा मध्यमाञ्चलका अरहान्तकेशर सिम्हले पूर्वाञ्चलका दिलिपनरसिंह अधिकारीलाई ११-५, ११-५, ११-६ को सेटमा हराए।
महिला सिंगल्समा मध्यमाञ्चलका भावना सुनुवार, मन्जिला आले मगर, स्वस्थानी श्रेष्ठ, सपना ब्लोन, श्रीमाया लामा र विपना ब्लोन तथा पूर्वाञ्चलकी मुस्कान राउत र पश्चिमाञ्चलकी कृष्णा थापाले क्वाटरफाइनल यात्रा तय गरे।
राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय सेपाकताक्रो पनि बुधवारबाट सुरु भएको छ।