PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

भरतपुर महानगरको बजेट करिब तीन अर्ब, फोहोरबाट मल र ग्यास उत्पादनको योजना



राजेन्द्र आचार्य

भरतपुर महानगरको बजेट करिब तीन अर्ब, फोहोरबाट मल र ग्यास उत्पादनको योजना

चितवन: भरतपुर महानगरपालिकाको पहिलो नगर सभामा करिब तीन अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी सुरु गरेको छ। पुस २१ देखि २३ गतेसम्म आयोजना हुने पहिलो नगर सभाबाट सो बजेट ल्याउन लागिएको हो।

गत कात्तिक २७ गते स्थगित भएको नगरसभा पुसको तेस्रो साता हुने भएपछि महानगरपालिकाका २९ वटै वडाबाट योजनाहरु छनोट भएर महानगरपालिकामा आइसकेका छन्। वडाहरुले एक करोड रुपैयाँको बजेट सिलिङमा रहेर विकास निर्माणको पूर्वाधारलाई प्राथमिकता दिँदै योजनाहरु ल्याएका महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले वडाले नै सञ्चालन गर्ने गरी बजेट विनियोजन गर्दैछ। केही ‘मेघा प्रोजेक्ट’ समेत नगर सभाबाट पारित गरेर सञ्चालन गर्ने तयारी छ।

मेघा प्रोजेक्ट’सहित महानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि करिब तीन अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए। 

मेघा प्रोजेक्टको रुपमा चक्रपथलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै जोशीले दोस्रोमा सिटी हल र तेस्रोमा ल्याण्डफिल साइटलाई राखिएको बताए। विश्व बैंकको १० करोड रुपैयाँ सहयोगमा २५ करोड रुपैयाँको लागतमा ल्याण्डफिल साइट निर्माण गरिने तयारी रहेको जोशीको भनाइ छ।
निजी क्षेत्रबाट प्रस्ताव आएमा फोहोरलाई वर्गीकरण गरेर ल्याण्डफिल साइटबाट प्रतिदिन चार हजार केजी मल र ३८ सिलिण्डर ग्यास उत्पादन गर्ने गरी प्रोजेक्ट निर्माण गरिएको जोशीले बताए। महानगरको विकासका लागि कस्ता नीति बनाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको जोशीको भनाइ छ। पूर्वाधार, आर्थिक, सामाजिक, सञ्चार क्षेत्रको नीति कस्तो हुनुपर्छ भनेर सोही क्षेत्रका व्यक्तिहरुसँग छलफल गर्दै नगर सभाका लागि योजना लैजाने तयारीमा महानगरपालिका रहेको जोशीले बताए।

महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न १० करोड रुपैयाँको भौतिक सामग्री खरिद गर्ने, वातावरण संरक्षणको लागि १४ करोड रुपैयाँ छुट्याउने, चक्रपथसँग सहायक बाटोहरु जोड्नको लागि बजेट छुट्याउने गरी योजना ल्याउने जोशीको भनाइ छ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिकाको नगर सभाको लागि सडक पूर्वाधारहरु नै प्राथमिकतामा परेका बताइन्। सहरी सडकभन्दा ग्रामीण सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने दाहालको भनाइ छ। सडकपछि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा भौतिक पूर्वाधारहरुमा महानगरपालिकाले बजेट विनियोजन गर्ने दाहालले बताइन्।

गत आर्थिक वर्षमा भरतपुरको आन्तरिक आय २४ करोड रुपैयाँ रहेकोमा यो वर्ष बढाएर एक अर्ब पुर्‍याउने लक्ष्य महानगरको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell