वीरगंज : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ कोइरियाटोलका किसान सञ्जय पटेलले यसवर्ष एक विघामा ‘खुटी’ र डेढ विघामा ‘मोरहन’ उखु लगाएका छन्।
उनले बारा मनहर्वास्थित रिलायन्स उखु मिललाई ७ वर्षदेखि उखु बेच्दै आएका छन्। पुस १ गतेदेखि रिलायन्सले उखु क्रसिङ सुरु गरेको छ।
उनले खुटीबाट एक टेलर उखु क्रसिङको लागि चिनी मिल पठाइसकेका छन्।
तर हालसम्म जति लगानी गरिएको छ, समयमा भुक्तानी हुन्छ कि हँुदैन भन्ने चिन्तामा छन्।गतवर्ष उखु बिक्री गरेको ६ महिनापछि मात्र भुक्तानीको पैसा हातमा परेको थियो।
यसपटक पनि करिब अढाई विघामा गरिएको उखु खेतीको लगानी ऋण लिएर नै लगानी गरेको उनी बताउँछन्।उनले एक ट्याक्टर बेचेको उखुमा ६० क्विन्टल हुन्छ। पुरानो दर ५३१ रुपियाँ २० पैसाको दरले हिसाब जोडने हो भन्ने करिब ३२ हजार पाउनु पर्ने हो। तर उनले त्यो पैसा कहिले पाउँछन् भन्ने ठेगान छैन।
किन भने चिनीमिलले उखु खरिद गरेको २१ दिन भित्र भुक्तानी गर्ने सम्झौता गरेको छ,तर त्यो अनुरुपको सम्झौता पालाना हुँदैन।
उखु बेचेको जम्मा रकमको दुई÷तीन किस्ता गरेर मिलले भुक्तानी गर्ने गर्छ। उखु खेतबाट कटानी गरी सञ्जयले करिब १० हजार रुपैयाँ कटानी, लोडिङ र ढुवानी गरेर खर्च गरिसकेका छन्। त्यस्तै एक विघामा गरेको उखु खेतीमा एक वर्षको हिसाब जोडने हो भने करिब १५ हजार रुपियाँ खर्च लागेको थियो।
यसरी हेर्ने हो भने एक टयाक्टर उखु खेतीमा किसानको कुल खर्च २५ हजार लाग्छ भने आम्दानी ३२ हजार,उनले खुद नाफा ७ हजार गरेका छन् ।तर भुक्तानी समयम नपाउँदा सारा नाफा साफा भइहाल्छ ।
‘समयमा भुक्तानी पायो भने साहुबाट लिएको ऋण तिरेर दुई चार रुपैयाँ हुन्थ्यो, चित्त बुझ्थ्यो,’उखु कृषक पटेल भन्छन्,‘तर एक ता साहुको व्याजको टेन्सन,अर्का तर्फ मिलले कहिले पैसा देला भन्ने चिन्ता सदैव लागि रहन्छ।’
‘किसानले कम अथवा बेसी सरकारले समयमै मुख्य तोकिदेओस भन्ने चाहन्छन् ।मुल्य नतोकिदा चिनीमिललाई किसानको पैसा नदिन बाटो मिल्छ ।अल्झाएर किसानको पैसा होल्ड गरेर आफनो काम गर्छन,’उनले भने।
यसमा उखु किसान संघर्ष समिति पनि त्यतिकै जिम्मेवार छन्। समयमै उखु किसानको समस्यालई समाधान गर्न चाहदैनन्। जस्तै अहिले पुसबाट फागुन चैत सम्म उखु मिलले उखु क्रसिङ गर्छ। तर उखुको मूल्य अन्तिम अन्तिम तिर हुन्छ ।जसले गर्दा किसानलाई मर्का पर्छ।
किसानले उखु खेतीबाट पाउने पर्ने पैसा समयमा पाउदैनन् । त्यो पैसाले चाहेको बखत आफनो काम गर्न सक्दैनन्।प्रदेश नं २ को ८ जिल्लाका उखु किसानको पीडा यस्तै छ।
किसानसँग विकल्प नभएर उखुबाली गर्छन् तर चिनीमिल कम भएकोले उखु बेच्न र पैसा पाउन झन्झट रहेको पिपरियाका अर्का किसान श्यामजी प्रसाद कुशवाहा दुखेसो पोख्छन्। नगदे बालीको रुपमा पर्सा, बारा, रौतहटलगायत जिल्लामा गरिने उखु खेतीका किसानहरु हरेक वर्ष यस्तै समस्या खेप्न बाध्य छन्।
हाल उखु मिलले जिरो दर अर्थात् गतवर्षकै दर ५३१ रुपैया २० पैसा प्रतिक्विन्टलको दरमा उखु खरिद गरिरहेको छ। किसानले उखुको चलान समयमा पाउँदैन। किसानले यस्तो समस्या भेगिरहँदा चिनीमिलले कुनै प्रकारको राहत वा अनुदान दिँदैन। जसले गर्दा उखु किसान हरेक वर्ष मर्कामा पर्छन्।