
काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज विहान भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच करिव डेढ घण्टा छलफल भएको थियो।
भेटमा राष्ट्रियसभा अध्यादेश र राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
राष्ट्रपति भण्डारीले अध्यादेशको बिषयमा ठूला राजनीतिक दलहरुबीच सहमति गर्न प्रचण्डलाई सुझाव दिएकी छन्।
त्यस्तै, सरकार निर्माणपछि देशले विकासको बाटोमा गति लिने भन्दै राष्ट्रपतिले राजनीतिक दलमा सहमति गराएर चाँडो भन्दा चाँडो नयाँ सरकार गठन गर्न प्रचण्डलाई आग्रह गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले प्रचण्डलाई नयाँ सरकार गठनका लागि शुभकामनासमेत दिएकी थिइन्। सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश तत्काल पारित गर्नुपर्ने नेपाली कांग्रेसको अडान छ भने अध्यादेश जारी गर्न नहुने पक्षमा नेकपा एमाले उभिएको छ।
नयाँ सरकार गठन र अध्यादेशका बिषयमा बुधबार प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचसमेत छलफल भएको थियो।