
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ। भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो।
निर्वाचनपछिको समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बसेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
बैठकले प्रदेश सभातर्फको समानुपातिक सदस्यहरुको नामावली टुङ्ग्याउने बताइएको छ। त्यसैगरी बैठकमा सरकार गठन, राष्ट्रियसभा गठन अध्यादेशबारे पनि छलफल गरिने छ।
सचिव श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष ओलीले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको कुराकानीको ब्रिफिङ गर्नेछन्।
चार दिनको चितवन बसाइपछि काठमाडौं फर्केका प्रचण्डले बुधबार एमाले अध्यक्ष ओलीलाई भेटेका थिए। भेटमा पार्टी एकता, अध्यादेश र सकार निर्माणबारे छलफल भएको थियो।
प्रचण्डसँगको भेटपछि अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्। स्थायी कमिटीमा पार्टी एकताको प्रक्रियाबारे छलफल भएपछि एमाले–माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकको मिति तय हुने छ।