PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

मन्त्रिपरिषद बैठकमा चर्काचर्की : 'नयाँ सरकार नबन्दै असहयोगी बने सचिवहरु'



नेत्र तामाङ

मन्त्रिपरिषद बैठकमा चर्काचर्की : 'नयाँ सरकार नबन्दै असहयोगी बने सचिवहरु'

काठमाडौं : बिहिवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु र मुख्य सचिवबीच चर्काचर्की भएको छ।

नियमित मन्त्रिपरिषद्को बैठकको सुरुमै सहभागी मन्त्रीहरुले आफ्नो विभागीय मन्त्रालयका सचिवहरुले असहयोग गरेको विषय उठाएका थिए। निर्वाचनको परिणामपछि मन्त्रालयमा सचिवहरुले असहयोग गरेको भन्दै मन्त्रीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीप्रति आक्रमक व्यवहार गरेका थिए। 

वर्तमान सरकार कामचलाउ मात्र भएकाले मन्त्रीहरुको निर्देशन मान्न छाडेका छन् र मान्नुपर्ने अवस्था आयो भने छल्नका लागि विदामा बस्न थालेको आरोप मन्त्रीहरुको थियो। 

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्यसचिव रेग्मीलाई भेटी गोरखापत्र र चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिबारे प्रश्न उठाउँदै कामचलाउ सरकारका निर्देशन र नियुक्ती नमान्न भनेको सार्वजनिक भएको थियो। नयाँ सरकार बनिनसक्दै नै सचिवहरु ओलीको आदेशानुसार काम गर्न थालेको आरोप लगाउँदै मन्त्रीहरु मुख्यसचिवमाथि खनिएका हुन्।

रेग्मीमाथि उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शहरी विकास मन्त्री दिलनाथ गिरी, सिंचाइ मन्त्री सञ्यकुमार गौतम, कृषि मन्त्री रामकृष्ण यादवलगायतले आक्रोश पोखेका थिए। 

‘आज मन्त्रिपरिषद्मा हंगामा भएकै हो, सचिवहरुले मन्त्रीलाई नटेरेकाले यस्तो भयो,’ बैठकमा सहभागी एक मन्त्रीले पहिलोपोस्टसँग भने। सचिवहरुले मनलागी गर्न थालेको भन्दै मन्त्रीहरुले मुख्यसचिवलाई स्पष्टीकरण सोधेको ती मन्त्रीले जानकारी दिए।
‘मन्त्रालयका सचिवहरुले वर्तमान सरकारको काममा असहयोग गरेकाले स्पष्टिकरण सोधिएको हो, ’ उनले भने, ‘उहाँले स्पष्टीकरण पनि दिनुभएको छ।’ 

उनका अनुसार मुख्य सचिव रेग्मीले आफूमाथि दोष नथुपार्न मन्त्रीहरुलाई अनुरोध गर्दै सरकारलाई असहयोग गर्ने सचिवलाई हटाउन सिफारिस भए आफू तयार रहेको समेत बताएका थिए।

मन्त्रिपरिषद्मा बैठकको सुरुमै मुख्यसचिवमाथि मन्त्रीहरु खनिन थालेपछि आजको बैठक स्वास्थ्य सचिवमा डा‍. पुष्पा चौधरीलाई नियुक्त गर्दै सम्पन्न भएको थियो। त्यसैगरी मन्त्रिपरिषद्ले रानीपोखरी पुनर्निमाणका लागि विशेषज्ञ समिति बनाउन निर्देशन दिनुका साथै मृगौला फेल भएकाहरुलाई प्रति  महिना पाँच हजार उपलब्ध गराउने निर्णय गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell