
काठमाडौं : भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग इपीएलको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर प्याट्रिओट्सलाई ३ विकेटले पराजित गर्दै फाइनल पुगेको हो।
भैरहवालाई जितका लागि अन्तिम ओभरमा १३ रनको आवश्यक थियो र रोहित पौडेलले २ छक्कासहित १३ रन प्रहार गर्दै ३ बल अगावै जित दिलाए।
भैरहवाले अब फाइनलमा विराटनगर वारियर्ससँग शनिबार खेल्नेछ। विराटनगर यसअघि पहिलो क्वालिफायरमा भैरहवालाई नै पराजित गर्दै फाइनलमा पुगिसकेको छ।
अन्तिम ओभरमा रोहितले खेल जिताएपछि खुशी देखिएका शरदले इपीएलको मज्जा नै यही रहेको प्रतिक्रिया दिए। 'मेरो विचारमा एक्साइटिङ म्याच रह्यो यो। इपीएल यसैको लागि बनेको जस्तो। भरपुर रमाइलो हुँदैछ।'
विकेटहरु झरिरहेका कारण १३२ को टार्गेट भेट्टाउन केही गाह्रो भएको शरदको भनाई थियो। 'हाम्रो विकेटहरु गयो। पार्टनरसिप हुन सकेन। त्यही नै कारण रह्यो।'
शरदले अन्तिम ओभरमा खेल जिताएको रोहितको खुलेर तारिफ गर्दै उनले खेल जिताउने विश्वास रहेको बताए। यस्तै रोहित नेपालको लागि नयाँ फिनिसरको रुपमा उदाएकव समेत शरदको भनाई छ।
यता हारपछि ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ले सन्दीप लामिछानेको दुई ओभर र कुशल भुर्तेलले क्याच छुटाउनु नै खेल हार्नुको कारण रहेको बताए। सन्दीपलको दुई ओभरमा भैरहवाले ३३ रन जोडेको थियो। सन्दीपलाई भैरहवाका प्रथम सालुन्केले छैटौँ ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए। यस्तै १८.४ ओभरमा ललितपुरका कुशलले रोहित क्याच ड्रप गरेका थिए।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो। ललित पुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए। यसैगरी सन्नी पटेलले २४, दिपेश भण्डारीले २२ ताथ कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडे। सोनु तामाङ १० रनमा नटआउट रहे। बलिङमा भैरहवाका पुनित मेहराले २ विकेट लिए।
जवाफमा १३३ रनको लक्ष्य भैरहवाले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। भैरहवाका लागि प्रथम सालुन्केले सर्वाधिक ३२ रन बनाए। यस्तै विजयी रन प्रहार गरेका रोहति पौडेलले १७ बलमा १ चौका र २ छक्काको मद्दतमा नटआउट २८ रन बनाए। यस्तै भुपेन्द्र थापाले १९ तथा पुनित मेहराले १६ रनको योगदान गरे। बलिङमा ललितपुरका ललित राजवंशी र पवन सराफले २-२ विकेट लिए।