
- रमेश लम्साल
होङ्सी शिवम्ले उद्योगमा ३६ अर्ब लगानी गरेको छ। नवलपरासीको सर्दीमा कारखाना स्थापना गरेर सिमेन्ट उत्पादनको अन्तिम तयारीमा रहेको कम्पनीमा ३० प्रतिशत नेपाली लगानी र ७० प्रतिशत चिनियाँ लगानी रहेको छ। उद्योगले दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्नेछ।
होङ्सी शिवम्ले ३६ अर्ब र ह्वासिनले १५ अर्ब गरी कुल रु ५१ अर्ब सिमेन्ट उद्योगमा लगानी गरिसकेका छन्। उपयुक्त खानीको खोजीमा रहेको डाङ्गोटेले निकट भविश्यमा नै ५५ अर्बको वैदेशिक लगानी भित्र्याउन लागेको हो।
यस्तै भारतको रिलायन्स समूहले पनि नेपालमा सिमेन्ट उद्योग स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ। एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन थालेपछि स्वदेशमा नै रोजगारीको अवसरमा वृद्धि हुनेछ।
होङ्सी शिवम्ले एक हजार १०० जनालाई रोजगारी दिएको छ। यस्तै ह्वासिनले एक हजार जनालाई तथा डाङ्गोटेले उद्योग स्थापना गरेपछि दुई हजार ५०० जनालाई रोजगारी दिने बताइएको छ।
डाङ्गोटेका नेपाल प्रतिनिधि रुप रावलले आफूहरु उपयुक्त खानीको खोजीमा रहेको बताए। अफ्रिकाको डाङ्गोटे सिमेन्ट उद्योगले लगानी बोर्डसँगको समन्वयमा कारखाना स्थापना गर्ने जमिन र खानी खोजिरहेको छ।
रावलले भने,‘मकवानपुरको खानी उपयुक्त देखिएन। खानी विभागलाई खानी उपलब्ध गराइदिन आग्रह गरेका छौं। आशा छ हामीले छिट्टै खानी पाउँछौं।’
सिमेन्टमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आफूहरुले सिमेन्ट उद्योगमा लगानी गर्न चाहने उद्योगी तथा व्यवसायीलाई सहजीकरण गरिरहेको लगानी बोर्डले जनाएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले होङ्सी शिवमबाट सुरु भएको वैदेशिक लगानी चिनियाँ कम्पनी ह्वासिनसम्म पुगेको बताए।
लगानी बोर्ड ऐन, २०६८ अनुसार बोर्डको १९औँ बैठकले ह्वासिनको लगानी भित्र्याउन सहमति दिएको थियो। उक्त कम्पनीले दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्नेछ। बोर्ड र ह्वासिनबीच यही पुस १२ गते परियोजना लगानी सम्झौता भएको छ।
शत प्रतिशत चिनियाँ लगानी रहने उद्योगले धादिङको पानीखर्कमा रहेको चुनढुंगा खानी प्रयोग गर्नेछ। कम्पनीले परियोजना दर्ता दस्तुरस्वरुप सरकारलाई परियोजनाको कुल लागतको ०.२ प्रतिशत हुन आउने करिब तीन करोड रकम बुझाउनेछ।
खुला प्रतिस्पर्धाबाट कम्पनीले ६० करोड सरकारलाई भुक्तानी गरी खानी प्राप्त गरेको हो। बोर्ड बैठकले सो परियोजना लगानी सम्झौतालाई स्वीकृत गरेपछि कम्पनीले आधिकारिक रुपमा उद्योग स्थापना गर्नेछ।
प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीको लागि अनुकूल वातावरण रहेको सन्देश दिएको उल्लेख गरे। कम्पनीले उत्पादन गर्ने सिमेन्टको आपूर्तिबाट नेपालमा गुणस्तरीय सिमेन्टको माग पूरा गर्न सहयोग मिल्ने उनको भनाइ छ।
अन्य केही विदेशी कम्पनीसँग सिमेन्ट उद्योग स्थापनाका बारेमा छलफल भइरहेको बोर्डले जनाएको छ।नाइजेरियाको डाङ्गोटेको सम्बन्धमा पनि बोर्डले सहजीकरण गरिरहेको छ । बोर्ड र डाङ्गोटेबीच २०७० साल कात्तिक १५ गते उद्योग स्थापना गर्ने स्म्बन्धमा सम्झौता भएको थियो।
तर खानी र जग्गा नपाउँदा हालसम्म कम्पनीले औपचारिक रुपमा उद्योग दर्ता गर्न सकेको छैन। उद्योगले वार्षिक २१ लाख टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ।
‘हामी प्रयासरत छौँ। नेपालमा नै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ उद्योग स्थापना गर्न खोजिएको हो। तर खानी लिने विषय सबैभन्दा गाह्रो विषय रहेछ’ डाङ्गोटेका नेपाल प्रतिनिधि रावलले भने,‘खानी विभागले खानीको ठेक्का निकाल्नुपर्यो। हामी त्यसमा सहभागी हुन तयार छौँ।’
कम्पनीले मकवानपुरको भीमफेदीमा रहेको खानी ड्रिलिङ गर्दा गतिलो चुनढुंगा प्राप्त गर्न नसकेको जनाएको छ। धादिङमा लिएको खानीसमेत उपयुक्त नभएपछि कम्पनी अर्को खानीको खोजीमा रहेको छ। विभागले निकट भविष्यमा नै खानीको ठेक्का खोल्ने तयारी गरेको बताइएको छ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको सिमेन्ट उद्योग अर्घाखाँची सिमेन्टले पनि क्षमता वृद्धिका साथ साथै लगानीसमेत बढाएको छ। सो उद्योगले दैनिक तीन हजार ५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ।
नेपालमा हाल सञ्चालनमा ४७ वटा सिमेन्ट उद्योग छन्। त्यसमध्ये हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सरकारी स्वामित्वका उद्योग हुन्। हाल सञ्चालनमा रहेका उद्योगमध्ये केहीले मात्रै क्लिन्कर उत्पादन गर्छन् भने केहीले आयात गर्ने गरेका छन्।
होङ्सी शिवम्, ह्वासिन र डाङ्गोटेले स्वदेशमै क्लिन्कर उत्पादन गर्नेछन् । सिमेन्ट उत्पादक संघले यही मात्रामा स्वदेशी तथा विदेशी लगानी बढ्दै गए एकाध वर्षमा नेपाल आत्मनिर्भर हुने विश्वास लिएको छ।रासस