
भक्तपुर : राष्ट्रिय क्षयरोग केन्द्रले नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ सुरु गर्ने भएको छ।
केन्द्रले आगामी जनवरीदेखि सुरु गर्न लागेको सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्थावारे जानकारी लिन सक्ने केन्द्रका निर्देशक निर्देशक डा केदार नरसिंह केसीले जानकारी दिए।
केसीले भने,‘देशभरका हिमाल, पहाड र तराईलाई समेटने गरी ५५ जिल्लाका ९९ वटा क्लष्टर छुट्याइ करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष घरमै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन गर्न गरिने सर्वेक्षणका लागि पूर्व तयारी प्रशिक्षण कार्य सम्पन्न भएको छ।’
केन्द्रका योजना प्रमुख अनिल थापाका अनुसार नेपालमा प्रतिवर्ष ४४ हजार नयाँ क्षयरोगी भएको तथ्यांक छ। तर मुलुकमा ५८ देखि ६० हजारको संख्यामा क्षयरोगी हुनसक्ने आँकलन रहेको थापाले जानकारी दिए।
यस वर्षमात्रै ४४ हजार नयाँ क्षयरोगी थपिएको भएपनि दुई हजार ५५७ जना मात्रै दर्तामा रहेको जानकारी दिँदै थापाले जनवरीदेखि भक्तपुर, सिन्धुली, दोलखाबाट पाईलटिङका रुपमा सर्वे सुरु गर्न लागेको बताए।
थापाले भने,‘जनवरीबाट तीन जिल्लामा पाइलटिङका रुपमा सुरु हुने सर्वे थप ५५ जिल्लामा गरी कुल ५८ जिल्लामा हुनेछ, यसमा करिब ६० हजारको छातीको एक्सरे, खकारलगायतको परीक्षण हुनेछ।’
यसबाट नेपालमा क्षयरोगको अवस्था कस्तो छ, बिरामी निको हुने दर कस्तो छ, नयाँ बिरामी थपिने दर कस्तो छ, नयाँ र पुराना क्षयरोगी कति छन् भन्नेलगायतका क्षयरोगको अवस्थाबारे जानकारी लिन सकिने उनको दावी छ।
केन्द्रका निर्देशक केसीले समस्याको पहिचान गरेर त्यसको समाधान गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गरी सन् २०१६ देखि २०२१ सम्मको राष्ट्रिय रणनीतिक योजना तयार पारेर कार्यान्वयन भइरहेको बताए।
त्यसैगरी राष्ट्रिय क्षयरोग कार्यक्रममार्फत सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त देश बनाउने लक्ष्य लिएको नेपाल सरकारले फोक्सोका क्षयरोगका बिरामीका लागि छोटो अवधिको उपचार विधि सुरु गरेको छ।
केन्द्रले फोक्सोको क्षयरोगीका लागि नौ महिने विशेष उपचार विधि काठमाडौँ, विराटनगर, बुटवल र नेपालगञ्जबाट सुरु गरेको बताउँदै यसका लागि आवश्यक पर्ने सबै औषधि दामियन फाउण्डेशन बेल्जियमले राष्ट्रिय क्षयरोग केन्द्रलाई उपलब्ध गराएको छ।
हाल भइरहेको उपचार विधिमा आठ महिनादेखि १२ महिनासम्म सुईसमेत लिएर औषधि सेवन गरी उपचार गर्नुपर्नेमा अब सुरु हुने उपचार विधिमा चार महिनादेखि छ महिनासम्म सुई मात्र लिए पुग्ने र नौ महिना औषधि खाए क्षयरोग निको हुनेछ। निर्देशक केसीले चालु आर्थिक वर्ष ०७४/०७५ को अन्त्यसम्म नौ महिने छोटो उपचार विधि सेवा विस्तार गर्दै लैजाने उनले बताए।रासस