PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

गोरखामा अपाङ्गता भएकाहरुलाई घरमै पुगेर दिइयो नागरिकता 



पहिलोपोस्ट

गोरखामा अपाङ्गता भएकाहरुलाई घरमै पुगेर दिइयो नागरिकता 

गोरखा :  जन्मजात अपाङ्गता भएका गोरखा शहीद लखन गाउँपालिका–७ कोटडाँडाका एकै घरका तीन जनालाई आज घरमै पुगेर नागरिकता दिइएको छ। 

वडा सचिव शरण श्रेष्ठको पहलमा धनबहादुर श्रेष्ठका दुई छोरी र एक छोरालाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ, नायब सुब्बाद्वय मीनप्रसाद लामिछाने र हरिराम श्रेष्ठले नागरिकता प्रदान गरेका हुन्। 

विसं २०४५ मा जन्मिएकी लीला श्रेष्ठ, २०५९ सालमा जन्मिएकी शिला श्रेष्ठ र २०५६ सालमा जन्मिएका राजीव श्रेष्ठलाई वंशजका आधारमा नागरिकता दिइएको हो। उनीहरु सबै जन्मजात अपाङ्गता हुन्। 

अपाङ्गता परिचयपत्र बनाए पनि बोकेर जिल्ला प्रशासनसम्म पुर्याउन नसक्दा छोराछोरीको नागरिकता बनाउन नसकिएकोमा घरमै नागरिकता पाउँदा आफूहरु खुशी भएको धनबहादुरले बताए। 

सोही अवसरमा शहीद लखन–७ कै वीरबहादुर गुरुङ र बिस्तारी गुरुङलाई पनि नागरिकता दिइएको थियो। वीरबहादुर २००३ साल र बिस्तारी २००२ सालमा जन्मिएको भएपनि अहिलेसम्म नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित थिए। 

प्रशासनबाट नागरिकतासम्बन्धी ढड्डा बोकेर अधिकृत र नासुसहित वडाअध्यक्ष नागरिकता बनाउन कोटगाउँ पुगेका थिए। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई वडाअध्यक्ष शरण श्रेष्ठले अपाङ्गता भएकाहरुको नागरिकता बनाउन आग्रह गरेपछि घरबाटै नागरिकता बन्ने काम सफल भएको हो। 

यसअघि वडाअध्यक्ष श्रेष्ठकै पहलमा अपाङ्गता भएको श्रेष्ठ परिवारलाई एक लाख आर्थिक सहयोग मिलेको थियो। यस्तै आठजना अन्य विपन्नलाई पनि नागरिकता दिइएको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell