PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भाइबरबाट ठगी गर्ने शेठिया काकाभतिज समूहको थुनछेक सुनवाइको मिति सर्‍यो



अनन्तराज न्यौपाने

भाइबरबाट ठगी गर्ने शेठिया काकाभतिज समूहको थुनछेक सुनवाइको मिति सर्‍यो

विराटनगर :  भाइबरबाट चिट्ठा पर्यो भन्दै नेपालका सर्वसाधारणसित ठगी गरेर रकम असुल गर्ने काकाभतिज अनूपचन्द र ललित शेठियासहितको टोलीको थुनामुक्त गरिपाऊँ भत्रे निवेदनमा शुक्रबार पनि उच्च अदालतमा सुनवाइ भएन।

प्रतिवादीमध्येका एक बलराम विश्वासले यसै प्रकृतिको निवेदन दिन ढिलो गरेका कारण सुनवाइ ढिलै भएको उच्च अदालत विराटनगरले जनाएको छ।

अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार एउटै मुद्दाका भित्र–भित्र प्रतिवादीले छुट्टाछुट्टै निवेदन दिएका अवस्थामा सबै प्रतिवादीले गरेको निवेदनमा कैफियत प्रतिवेदन प्राप्त भएपछि एकैसाथ सुनवाइ गर्नुपर्ने व्यवस्था छ।

प्रतिवादीमध्येका एक बलरामले ढिलो निवेदन दिएका कारण उनको निवेदनमा कैफियत प्रतिवेदन प्राप्त नभएकाले एकैसाथ सुनवाइ हुन नसकी स्थगित भएको रजिस्ट्रार रेग्मीले बताए।

मोरङ जिल्ला अदालतले गरेको थुनछेकको आदेश बदर गरी पाऊँ भन्दै ठगी मुद्दाका अभियुक्त शेठियासहित ५ प्रतिवादीले उच्च अदालत विराटनगरमा मङसिर २८ गते निवेदन दिएका थिए। 

जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले मङसिर २७ गते शेठिया काकाभतिजासहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो।

जसमध्ये ५ जनाले जिल्ला अदालतको आदेश मुलुकी ऐनको अदालती बन्दोबस्तको १७ नम्बरबमोजिम बदर गरिपाऊँ भन्दै भोलिपल्ट २८ गते नै उच्च अदालतमा रिट दायर गरेका थिए।

रिट दायर गर्नेमा शेठिया काकाभतिजासहित श्रवणकुमार शाह, शनिदेवल विश्वास र पङ्कजकुमार कर्ण छन्। 

पुर्पक्षका लागि थुनामा रहेका अर्का अभियुक्त बलराम विश्वासले पुस १३ गतेमात्र अदालती बन्दोबस्तको १७ नम्बरअन्तर्गतको निवेदन उच्च अदालतमा दिएका छन्।

‘अब सबै प्रतिवादीको सुनवाइ एकै दिन हुन्छ’, रजिस्ट्रार रेग्मीको भनाइ थियो, ‘उच्च अदालत विराटनगरमा अ.बं.को १७ नम्बरको थुनछेकसम्बन्धी निवेदनको सुनवाइ हरेक शुक्रबार गरिन्छ। त्यसैले यस मुद्दाका प्रतिवादीको निवदेनको सुनवाइ पनि २१ गते शुक्रबार गरिनेछ।’

जिल्ला अदालतले ७ जनामध्ये एक अभियुक्त विमलकुमार चिरानियाँलाई मङ्सिर २७ मै ३ लाख ५० हजार धरौटी लिएर तारेखमा छाडेको थियो।

भाइबरबाट चिट्ठा परेको भनेर ठगिएकी पर्वत जिल्लाकी एक महिला सङ्गीता गुरुङको जाहेरीलाई आधार मानेर मोरङ प्रहरीले शेठिया काकाभतिजसहित ७ जनालाई गत कात्तिक ३० गते पक्राउ गरेको थियो।

भाइबरबाट चिट्ठा पर्यो भन्दै शेठिया काकाभतिजले देशभरिका विभित्र स्थानका ३ सयभन्दा बढीलाई ठगी गरेको प्रहरीको दावी छ।

‘हामीजस्ता सोझासाझा र गरिबलाई ठगेर तिनले ठूलो अपराध गरेका छन्’, पर्वतबाट सङ्गीताले टेलिफोनमा भनिन्, ‘अदालतबाट उनीहरूले कडाभन्दा कडा सजाय पाउनुपर्छ। हामीसित ठगेर लगेको रकम फिर्ता गरिनुपर्छ । अदालतले उनीहरूलाई छाड्यो भने हाम्रो मन रुन्छ।’

अदालतबाट ३ लाख ५० हजार धरौटीमा मुक्त भएका चिरानियाँलाई जिल्ला अदालतको आदेशअनुसार सम्पत्ति शुद्धीकरण विभागमा लगेर मुद्दा चलाइएको थियो। विभागले चिरानियाँसित २२ लाख ४० लाख धरौटी लिएर छाडेको छ।

शेठियाको घरमा चलाइएको कार्यालयबाट ११ लाख २० हजार रुपैयाँसहित चिरानियाँ पक्राउ परेका थिए।त्यस्तै अदालतकै आदेशअनुसार सम्पत्ति शुद्धीकरणमा लगिएका शेठिया काकाभतिजासित विभागले १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

शेठिया काकाभतिजासित विभागले पुस ५ गते १ करोड ५० धरौटी माग गरेको भए पनि उनीहरूले बुझाएका छैनन्। शेठिया काकाभतिजलाई हाल महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

किन बुझाएनन् शेठिया काकाभतिजले धरौटी ?

शेठिया काकाभतिजले लक्ष्मी बैकमा विराटनगर मेनरोडमा रहेको आफ्नो घरजग्गा धरौटी राखेर डेढ करोडको बैङ्क ग्यारेन्टी बनाएका भएपनि हालसम्म सम्पति शुद्धीकरण विभागमा पेश गरेका छैनन्।

विभागले उनीहरूसित पुस ५ गते डेढ करोड धरौटी माग गरेको हो। तर १० दिन बित्दा पनि उनीहरूले धरौटी राखेका छैनन्।

विभागमा बैंक ग्यारेन्टी पेश गर्नेबित्तिकै उनीहरू त्यहाँको हिरासतबाट मुक्त हुन्छन् र जिल्ला कारागार मोरङका पाहुना हुन पुग्छन्। किनकि मोरङ जिल्ला अदालतले मङ्सिर २७ गते उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइसेकेको छ।

तर शेठिया काकाभतिज कुनै हालतमा कारागारभित्र जान चाहँदैनन् गएपनि मोरङ कारागार नगई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार जान चाहन्छन् भत्रे स्रोतको दावी छ।

मोरङ कारागारमा विराटनगरका केही डनहरू भएकाले शेठिया काकाभतिजलाई यातना दिएर रकम असुल्ने सम्भावनी बढी भएको स्रोतको भनाइ छ। त्यसैले उनीहरू उच्च अदालतमा थुनछेकको सुनवाइबाटै मुक्त भएर घर जान चाहन्छन्।

स्रोतले बतायो–यही कारण अनूप र ललितले मोरङ कारागारभन्दा ललितपुर महानगरीय प्रहरी परिसरको हिरासत नै रोजेका हुन् र मोरङ कारागारभित्र पस्नु नपरोस् भनेर जानीजानी धरौटीको बंैक ग्यारेन्टी नबुझाएका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell