
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलगायत आयोगका आयुक्तहरुसँग भेटी राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गरेका छन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवासमक्ष आयुक्तहरुले राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश प्रमुखको नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने सुझाव दिएका थिए।
शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै अड्केको राष्ट्रियसभाको निर्वाचनको बाटो खुलेको थियो।
भेटमा प्रधानमन्त्री देउवासमक्ष प्रदेश सभाको परिणाम बुझाउन प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने सुझाव दिएको आयुक्त इला शर्माले जानकारी दिइन्।
आयुक्त शर्माले भनिन्,‘अध्यादेश प्रमाणीकरण भइसकेको छ। अब प्रदेश सभाको समानुपातिक परिणाम पनि आइसकेको छ। यो परिणाम हामीले प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्छ। त्यसको लागि सरकारले सक्दो चाँडो प्रदेश प्रमुख नियुक्ति गर्नुपर्छ भनेर हामीले सुझाव दियौं।’
प्रदेशसभाले पूर्णता पाएपछिमात्र राष्ट्रियसभाको निर्वाचनको बाटो खुल्ने उल्लेख गर्दै सरकारलाई यी विषयहरुमा तत्काल सम्बोधन गर्न सिफारिश गरेको उनले जानकारी दिइन्।सुझावमा प्रधानमन्त्री सकरात्मक रहेको उनले बताइन्।