काठमाडौं : पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका अरहान्तकेशर सिम्ह राखेप च्याम्पियनसिप–२०७४ अन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। पुरुष-महिला दुवैको फाइनल पश्चिमाञ्चल र मध्यमाञ्चलबीच हुनेछ।
सेमिफाइनलमा अमृतले मध्यमाञ्चलका राजेन्द्र शाकयलाई ११–६, ११–८, ११–६ तथा अरहान्तले मध्यमाञ्चलका छिरी लामालाई ११–६, ११–३, ११–६ को सोझो सेटमा पराजित गरे।
महिला सिंगल्समा पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनवार उपाधिका लागि भिड्ने भएका छन्।
अमृतकी दिदी कृष्णाले मध्यमाञ्चलकी विपना ब्लोनलाई ११–६, १०–१२, १२–१०, ४–११, ११–८ तथा भावनाले मध्यमाञ्चलकै स्वस्थानी श्रेष्ठलाई ११–६, ११–२ र ११–१ को सेटमा हराए। फाइनल खेल शनिबार हुनेछ।