
काठमाडौं : नेपाल रोल बल संघको आयोजनामा तेश्रो दक्षिण एसियाली रोल बल च्याम्पियनसिप शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ।
पहिलो दिन नेपाल दुवै खेलमा पराजित भयो। पुरुषमा भारतले नेपाललाई ६–४ ले पराजित गर्यो। भारतका हिमान्शु लाम्बा र आकाश सिंहले २–२ तथा आकाश गणेश वारे र जय सेडाकरले १–१ गोल गरे। नेपालबाट आशय विसीले २ तथा मनोज वज्राचार्य र सजिव महर्जनले १–१ गोल गर।
महिलामा पनि भारतले नेपाललाई १२–० को फराकिलो गोलअन्तरले हरायो। भारतको जितमा इशाशंकरले ५, नतिसा सन्धुले ४, श्रृष्टि शर्माले २ र पूजा महलाले १ गोल योगदान गरे।
शनिबार सम्पन्न हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको आयोजक संघका अध्यक्ष वीरकृष्ण महर्जनले जनाएका छन्। यसअघि दक्षिण एसियाका ७ वटै राष्ट्रको सहभागिता हुने भनिएपनि माल्दिभ्स, पाकिस्तान र भुटान भने आएनन्।