खोटाङः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले विकास निर्माणका योजनामा राजनीतिकरण गर्न नहुने धारणा राखेका छन्।
गृह जिल्ला खोटाङको छोरम्बुमा आज आयोजित सम्मान कार्यक्रममा उनले भने “पछिल्लो समय विकास निर्माणका योजनामा बढ्दो राजनीतिकरणका कारण देशमा अपेक्षित विकास हुन सकेको छैन ।”
प्रमुख आयुक्त दीप बस्न्यातले “विकासका नाममा राजनीति नगर्नुस्, राजनीतिबाट विकास गर्नुस्”,भन्दै “आफूले दिएको आश्वासन पूरा गर्नुस्, सम्पूर्ण विकासका आयाम पूरा हुँदै जान्छ,” बताए।
४७ वर्षपछि गृह जिल्ला खोटाङ आएका प्रमुख आयुक्त बस्न्यातलाई विकट जिल्लामा जन्मिएर पनि राज्यको उच्च तहमा पुगेर देशको सेवा गरेकोमा छोरम्बुवासीले दोसल्ला ओढाएर सम्मान गरेको छ ।
उनले आजै दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा विस्तार गरिएको केन्द्रीय विद्युत् प्रसारण लाइनको उद्घाटन पनि गरे। रासस