PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

यी हुन् २०१७ मा विश्वमा चर्चामा रहेका महिला



पहिलोपोस्ट

यी हुन् २०१७ मा विश्वमा चर्चामा रहेका महिला

  • मोहिनी मिश्र रिसाल 
काठमाडौँ : सन् २०१७ लाई फर्केर हेर्दा यसअघिका वर्षहरुमा जस्तै विश्वका कतिपय देशका महिला चर्चाको शिखरमा पुग्न सफल भए। ती मध्ये अधिकांशको चर्चाको कारण सत्ता र शक्ति नै हो।

यसरी हेर्दा सबैभन्दा बढी चर्चित बनिन् जर्मन चान्सलर एन्जेला मार्केल र बेलायतका प्रधानमन्त्री टिरिजा मे। त्यस्तै दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाई अर्को चर्चामा रहिन्। र उनीहरु सबैको चर्चाको मुख्य कारण थियो सत्ता। 

माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सकी धर्मपत्नी मिलान्दा गेट्स, भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ् सान सुकी, पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी श्रीमती कुलसुम र वर्षको उत्तरार्धमा विश्वकै चर्चामा आइन् जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेकी धर्मपत्नी अर्थात् तत्कालीन प्रथम महिला ग्रेस मुगावे। 

यहाँ स्मरणीय एउटा प्रसंग के छ भने सधै सकारात्मक रुपमा चर्चाको शिखरमा पुग्न सफल म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकीको यतिबेलाको चर्चाको विषय ठीक उल्टो बन्न पुग्यो। सधैँ देश र प्रजातन्त्रको लागि चर्चामा रहने उहाँले यस पटक भने अत्यन्तै नराम्रो चर्चा कमाइन्। 

नराम्रो चर्चा पनि यतिसम्म कि उनले प्राप्त गरेको विश्वको चर्चित नोवेल शान्ति पुरस्कार नै फिर्ता गराउनुपर्ने चर्चा विश्वमा चल्यो। म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्ग्या मुस्लिम समुदायलाई जातीय सफायाकै शैलीमा गरिएको दमनले उनलाई यो हालतमा पुर्यायो।

त्यस्तो प्रजातन्त्रवादी नेत्रीले मुलुकको शासनको बागडोर सम्हालीरहेका बेला यतिखेर सोही देशका ६ लाखभन्दा बढी नागरिक लखेटिएर विदेशमा शरणार्थीको रुपमा बस्न बाध्य छन्। 

सन् २०१७ को विश्व राजनीतिको ध्यान यस घटनाले निकै नै तान्यो। विश्वका अखबारका पानाहरु ती शरणार्थीका कथा व्यथाले भरिन पुगे।

उनीहरुका दुःख कष्टको कथा पश्चिमा टेलिभिजनहरुमा निकै पोखिए। यसरी करिब दुई दशक सैनिक हिरासतमा बिताउदा पनि प्रजातन्त्रको माग नछोडेकी नेतृ सुकीको यस्तो व्यवहारलाई विश्वले निकै नै नमिठो महसुश गर्यो। यसले यसरी विश्वमा नराम्रो चर्चा बटुल्न पुग्यो। 

जर्मन चान्सलर एन्जेला मार्केल सन् २०१७ मा पनि चर्चाको शिखरको पहिलो नम्बरमा पर्न सफल भएकी छन्। गएको सेप्टेम्बर महिनामा भएको निर्वाचनबाट उनी चौथो पटक पनि जर्मन चान्सलरमा निर्वाचित हुन सफल भएकी छन्।

विगत दस वर्ष भन्दा बढी समयदेखि युरोपको एक सपन्न राष्ट्रलाई समेत प्रभावकारी महिलाका रुपमा नेतृत्व दिन सफल महिला नेतृ एन्जेला मार्केलले यस वर्ष पनि चर्चा पाएकी छन्। 

प्रभावकारी नेताको पहिचान दिन सफल जर्मन चान्सलर एन्जेला मार्केल यस पटक चौथो पटक यहाँको चान्सलर हुन सफल भएपछि चर्चामा आएकी हुन्।

उनी यसवर्षको सबैभन्दा प्रभावशाली ‘सेलिब्रेटी’ का रुपमा पनि पर्नसक्ने देखाइएको छ। खासगरी ओरालो लागेको युरोपियन अर्थतन्त्रलाई आश्चर्यजनक रुपबाट माथि उकास्न सफल एन्जेला युरोपेली नागरिकबीच नै लोकप्रिय छिन्।

विश्व शक्तिशाली देशलगायत इराक र सिरियामा भीषण आतङ्क मच्चाउँदै आएका इस्लामिक स्टेट (आइएस) आतङ्ककारी विरुद्ध उनले चालेको कदम पनि प्रशंसनीय रहेको छ। 

यस पटक दोस्रो स्थानमा पर्न सफल भइन् बेलायतकी प्रधानमन्त्री टिरिजा मे। बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरीने भन्ने विषयमा जनमतसंग्रहमा बाहिरीने पक्षमा मतदान भएपछि बेलायतका तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीका नेतृ मे बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्ति भएकी थिइन्।

यसरी देशको आधा जस्तो जनसङ्ख्या यसको विपक्षमा रहदाँ पनि देशको कार्यभार सम्हाल्नु अत्यन्त जटिल समयको रुपमा रहेको थियो। यस्तो ऐतिहासिक समयमा पनि शासन सञ्चालन गर्नुले उनी दोस्रो स्थानमा पर्न सफल भएकी थिइन्। 

माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सकी धर्मपत्नी मिलान्दा गेट्स यस पटक पनि विश्वका चर्चित महिलको रुचिमा तेस्रो स्थानमा पर्न सफल भएकी छन्। सन् २००० बाट विल एण्ड मिलान्दा गेट्स फाउन्डेशन नामक एक संस्था सुरु भएको थियो।

सो संस्थाको उपाध्यक्ष मिलान्दाले ४० विलियन डलर बराबरको खर्च गरिसकेकी छन्। महिला विकास तथा युवतीको उत्थानको लागि उनको विशेष योगदान रहँदै आएको छ। उनले एक सय भन्दा बढी देशका संघ संस्थालाई यस्तो सहयोग गर्दै आएकी छन्।

यस वर्ष भारतीय काँग्रेसको पूर्व अध्यक्ष सोनिया गान्धी पनि चर्चामा रहिन्। यस अघि १९ वर्षसम्म पार्टीको अध्यक्ष भएकी सोनिया गान्धीले आफ्नै ४७ वर्षीय छोरा राहुललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेपछि चर्चामा आएकी हुन्। राहुललाई पार्टीको जिम्मेवारी हतान्तरणपछि काँग्रेसको नेतृत्व गान्धी परिवारको अर्को पुस्तामा सरेको छ । 

सत्तारुढ दल भारतीय जनता पार्टीले भने राहुललाई इच्छाशक्ति नभएको र प्रभावहीन व्यक्तिका रूपमा काँग्रेसको अध्यक्ष बनाइएको र काँग्रेसको अध्यक्ष पद गान्धी परिवारमा मात्र सीमित रहेको जस्तो अपेक्षा गरिएको थियो।

आफ्नै छोरालाई अध्यक्ष पद दिइएको भनी सोनियाको केही आलोचना र चर्चा भएको थियो। निर्वाचनमा अधिकांश ठाउँमा पराजित भएको काँग्रेसलाई उनले प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ। राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो। 

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जवाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ। नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ।

सोनिया पूर्व प्रधानमन्त्री राजिव गान्धीको धर्मपत्नी हुन्। सोनिया लामो समयदेखि काँग्रेस पार्टीको लागि संघर्षरत छन्। इटाली मूलको भएकोले उनी कुनै बेला प्रधानमन्त्रीको दावेदार भए पनि भारतमा विरोध गरेकोले सत्तारोहण गर्न मानेी थिइनन्। 

यस पटक पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी धर्मपत्नीले लाहोरमा भएको संसदको उपनिर्वाचनमा विजय हासिल गरेपछि चर्चामा आएकी थिइन्।

पाकिस्तानको सर्वोच्च अदालतबाट गत जुलाइमा सांसद पद सम्हाल्न समेत अयोग्य ठहर गरी हटाइएका यहाँका वरिष्ठ राजनीतिज्ञ नवाज शरिफ प्रधानमन्त्री पदबाट हटाएइ पनि श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट विजय हासिल गरेपछि चर्चाको विषय बन्न पुगेको थियो। 

आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याएकोले पनि उनको चर्चा बढेको केहीको विश्लेषण छ। एक बहुचर्चित भ्रष्टाचारसम्बन्धी मुद्दा पानामा पेपर्समा पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सांसद पदसमेतमा रहन अयोग्य ठहर गरेर सत्ताबाट हटाएको थियो।

पूर्व प्रधानमन्त्री शरिफको राजीनामा पछि नै उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो। क्यान्सर रोगबाट पीडित कुलसुम हाल लन्डनमा उपचाररत छन्। 

सन् २०१६ मा महाअभियोग लगाई हटाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइको यसवर्ष पनि उत्तिकै चर्चा रह्यो। उनले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोग लगाइएको थियो तर त्यो प्रमाणित हुन भने बाँकी छ। पार्कलाई एक अदालतले दोषी ठहर गरेपछि यसैवर्ष पक्राउ गरिएको थियो। तर उनी सर्वोच्च अदालत गएकी छन् र हाल त्यस सम्मका लागि धरौटीमा छुटेकी छिन्। 

यता यसै वर्षको उत्तरार्धतिर जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षे एकछत्र शासनकालको उनकै श्रीमतीका कारण नमिठो अन्त्य हुनपुग्यो। सेनाले ‘कु’ गरेसँगै दवावमा परेका राष्ट्रपति मुगाबेले आफूविरुद्ध संसदमा महाभियोग प्रस्ताव टेबल हुनुअघि पदबाट राजीनामा दिए।

९३ वर्षीय मुगावे सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्व गरिरहेका थिए। कमजोर स्वास्थ्य र बढ्दो उमेरसँगै सत्ताको उत्तराधिकारी चयन गर्ने विषयमा पत्नी र उपराष्ट्रपतिबीच विवाद देखिएपछि सेनाले हस्तक्षेप गरी उनलाई नजरबन्दमा राखेको थियो। 

उनले आफ्नी पत्नी अथवा प्रथम महिला ग्रेस मुगावेलाई सत्ता सुम्पिने लालचाले उपराष्ट्रपतिलाई पदबाट बर्खास्त गरे। तर उनको यो योजनाले जन्म लिनुअगावै उनले नै सत्ता त्याग्नुपर्ने अवस्था आयो।

स्वतन्त्रता प्राप्तिका सेनानी मुगावेलाई सम्मानपूर्वक सत्ताबाट हटाउन सेनाले वार्ता गरी राजीनामा दिन आग्रह गरेपनि मुगावेले अस्वीकार गरेपछि सेनाले ‘कू’ गरेको तथ्य पछि खुल्यो।

सेनाको नजरबन्दबाटै मुगाबेले राजीनामा बुझाएपछि सेनाको समर्थन प्राप्त पूर्व उपराष्ट्रपति इमर्सन मनङ्वा नयाँ राष्ट्रपति भएक छन्। यसरी ९३ वर्षीय एकजना स्वतन्त्रता सेनानी र लोकप्रिय नेताको राजनीतिक अन्त्य आफ्नै पत्नीलाई शासनमा ल्याउने लोभका कारण हुन पुग्यो।

 सन् २०१६ मा अति शक्तिशाली महिलाको सूचीमा रहेकी अमेरिकी पूर्व विदेशमन्त्री हिलारी रोधाम क्लिन्टन भने यस वर्ष चर्चामा रहिनन्। विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्तराज्य अमेरिकामा गत वर्ष भएको निर्वाचनमा हिलारीलाई प्रमुख दावेदारको रुपमा हेरिएको थियो। तर राष्ट्रपतिमा भने डोनाल्ड ट्रम्प निर्वाचित भए।

 संयुक्तराज्य अमेरिकाको ४२औँ राष्ट्रपति विलक्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्नसक्ने महिलाको रुपमा पनि परिचित छन्।

सन् २०१६ को नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपति पदको लगभग जित हासिल गरिसकेका एक जना महिला नेतृ हिलारीको अमेरिका र विश्वमा नै चर्चा पाएकी थिइन्। त्यसै कारण पनि यसवर्ष अमेरिकाको विदेश नीति जस्तो विषयमा उनको नाम जोडिएर आएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell