काठमाडौं : विराटनगर वारियर्सले फाइनलमा भैरहवा ग्लाडिएटर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै एभरेष्ट प्रिमियर लग इपीएलको उपाधि जितेको छ।
विराटनगरले उपाधि जित्दा उक्त टिमका तिन खेलाडीले लगातार दोस्रो पटक अपराजित रहदै इपीएल जित्ने सौभाग्य पाए। गत वर्ष तेज पञ्चकन्याबाट पहिलो संस्करणको उपाधि जितेको करण केसी, आसिफ शेख र पुष्प थापाले यस पटक विराटनगरबबाट इपीएलको ट्रपी चुमे।
गतवर्ष पनि यी तीन खेलाडीले अपराजित रहदै उपाधि जितेका थिए। तर यसपटक भिन्न टोलीबाट यी खेलाडी च्याम्पियन बनेका हुन्।
आसिफ र करणले भैरहवा विरुद्ध फाइनल खेलेपनि पुष्प भने प्लेअर डगआउटमै थिए।
यस्तै गत वर्ष फाइनल पुगेर पनि उपाधि जित्न नसकेको अभिनास कर्णले यसपटक विराटनगरबाट उपाधि जिते। यस्तै गत वर्ष तेजबाटै उपाधि जितेका शरद भेषावकर, आरिफ शेख र भुवन कार्कीले भने यसपटक उपविजेतामा चित्त बुझाए।
यसबाहेक पहिलो पटक इपीएलको उपाधि जित्ने खेलाडीहरुमा कप्तान पारस खड्का, उपकप्तान बसन्त रेग्मी, अनिल कुमार शाह, प्रनित थापा मगर, सुमित महर्जन, रामनरेश गिरी, आकाश विष्ट र दिपेश कँडेल रहे। यसैगरी तीन विदेशी खेलाडीमा हङकङका बाबर हायत र अंशुमन रथ तथा श्रीलंकाका सहान अदिसा अप्पुहामी पनि च्याम्पियन टोलीको मेम्बर बने। विराटनगरलाई अपराजित रहदै च्याम्पियन बनाउन यी ३ खेलाडीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।