
- पासाङ ठकुल्ला
काठमाडौं : शनिबार राष्ट्रिय सभागृहमा मञ्चलाई आकर्षक रुपमा सजाइएको थियो। अतिथि सोफासेट, दुईतिर लाइभ भिडियो र पछाडि ठूलो ब्यानर।
ब्यानरमा लेखिएको थियो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष क. वामदेव गौतमद्वारा लिखित पुस्तक नेपाल नवनिर्माण महाअभियान पुस्तक विमोचन तथा विवेचना कार्यक्रम।
दिउँसो एकबजे सुरु हुने भनिएको कार्यक्रम केही ढिला गरी सुरु भयो। केही अघिपछि गरेर भित्रिए तीन दलका शीर्ष नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। त्यसको केही समयमा भित्रिए प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन।
वाम गठबन्धनका नेता ओली र प्रचण्ड प्रायजसो एकसाथ देखिइने गरेका छन्। तर कांग्रेस नेता पौडेलको उपस्थितिले कार्यक्रममा उपस्थित सञ्चारकर्मी र नेता कार्यकर्तामा उत्साह छायो।
कार्यक्रम सुरु भयो। वामदेव गौतमले अतिथिलाई खादा लगाए र फुलको गुच्छा दिएर स्वागत गरे। अनि उनले पुस्तक लेखनको समय र सन्दर्भबारे जानकारी गराए।
गौतमले पुस्तकबारे केही कुरा प्रष्ट पारेपछि प्रमुख अतिथि उपराष्ट्रपति पुन र अतिथि तीन दलका शीर्ष नेताले पुस्तक विमोचन गरे।
विमोचनपछि पहिले बोल्ने मौका पाए नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले।
वामदेवको पुस्तकमाथि खनिए पौडेल र प्रचण्ड, बचाउ गर्नेमा ओली
पौडेलले के भने?
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वामदेव गौतमको पुस्तकमा विकासप्रतिको गहन चिन्तन पाएको बताए। उनले विकासका लागि पुस्तक सहयोगी भएको बताए।
‘पुस्तकमा वामदेवले अत्यन्त जोगिएर नेपालको अहिलेसम्मको इतिहासको व्याख्या गर्नुभएको छ,’उनले भने,‘मलाई दुई तीन कुरा लागेका कुरा छन्। जस्तोकी नेपालमा समान्तवादको अन्त्य। सामन्तवादकाविरुद्ध बिपी कोइरालाले साहसिक निर्णय गरेका हुन। यसबारे महेन्द्रलाई बढी श्रेय दिन खोजेको मैले महसुस गरें।’
२०४६ सालतिर कांग्रेस कम्युनिष्ट एकता गराउने विषयमा गणेशमान सिंहले सबैभन्दा ठूलो पहल गरेका थिए। यो कुरा ओझेलमा पार्न नहुने पर्ने हो भन्ने लाग्छ। उनले केही विषयमा अलिकति तथ्य भन्दा पर रहेर विश्लेषण गरेको बताए।
प्रचण्डले के भने?
पौडेलको पछि बोल्ने मौका पाएका माओवादी अध्यक्ष प्रचण्डले विकासको १० वर्षे योजनाको रुपमा पुस्तकलाई लिएको बताए।
लोकतन्त्रको लागि भएको/गरेको बलिदानबारे पुस्तकमा खासै उल्लेख नगरिएको भन्दै प्रचण्ड असन्तुष्ट देखिन्थे। सोही विषय उठानका क्रममा उनले पौडेललाई कमरेड भन्नसमेत भ्याए। १० वर्षे संघर्षका बारेमा वामदेव गौतमले छ्यास्स दुई वाक्य मात्र लेखेको भन्दै आक्रोस पोखे। उनले कमरेड भनेको थाहा पाएपछि पौडेललाई सरी भने। एकछिन् हलमा हाँसो गुञ्जियो।
लोकतन्त्रको लागि ठूलाठूला छलफल वार्ता १२ बुँदे सम्झौता र सहकार्य भएका थिए तर लोकतन्त्र ल्याउन गरेको ठूलो बलिदनबारे पुस्तकमा दुई वाक्य लेख्नु न्यायपूर्ण नभएको प्रचण्डले बताए।
ओलीले के भने?
प्रमुख दुई वक्ता पुस्तकमाथि खनिएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने आलोचना गरेनन्।
उनले भने, पुस्तक पढ्न दिएको थियो, मैले पढ्न पाइन। सिरानमुनि हालेर आउने कुरा भएन। त्यसैले पुस्तकबारे मेरो टिप्पणी छैन। खुशी व्यक्त गर्ने हो। टिप्पणी होइन।’
ओली पुस्तक भन्दा पनि रामचन्द्र पौडेलमाथि खनिए।
ओली भन्दा पहिले बोल्ने मौका पाएका पौडेलले भनेका थिए, ‘संविधानमा दुई कुरा छन्। प्रजातन्त्र र लोकतान्त्रिक मूल्यमान्यता आधारित समाजवाद अर्थात् मेरो भाषामा भन्ने हो भने प्रजातान्त्रिक समाजवाद र अर्को बहुलवादमा आधारित संसद र बहुदल। यी मूल्यमान्यतामा टेकेर देश विकास र समृद्धिमा लैजानुपर्छ।’
यसको जवाफ दिँदै ओलीले भने, ‘लोकतन्त्र हामीले लडेर ल्याएको हौं। हामी लोकतान्त्रिक व्यवस्थामा हुर्किएका होइनौं। तानाशाहीविरुद्ध लडेर आएका पुस्ता हौँ। कसले कन्फ्यूजन खडा गर्न खोजिराख्या छन्। वामपन्थी लोकतान्त्रिक हैन नभन्ने हिसाबले लोकतन्त्र जोगाउनपर्छ है। यो संविधान हामीले ल्याएको होइन अरु कसैले ल्याएको जस्तो। यो संविधान सरकारले मान्नुपर्छ है। संविधान बनाउन हामी लडेका हौं। संविधान बनाउनका लागि कांग्रेसलाई प्रधानमन्त्री दिएर हामीले बनाएको हो त। संविधानबारे छलफल गर्नुपर्ने भए छलफल गर्न तयार छौँ।’
उनले निर्वाचनपछि पनि चलखेल भएको बताए। उनले भने,‘लोकतान्त्रिक पार्टीले एक नेतालाई भेटेर अफर गर्छ। पाचँ वर्ष तपार्इँलाई।’
ओलीले यति भेनेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वामदेव गौतमसँग विदा लिँदै पौडेल कार्यक्रमको बीचमै बाहिरिए।