धुलिखेल : नेपालमा नै पहिलोपटक नेपाल अटोमोबाइल्स एशोसिएसन र नेपाल मोटर स्पोर्टस् क्लबको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बेजिङ प्लानमा ‘नेशनल अटो जिमखाना च्याम्पियनसिप–२०१७’ प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
एशोसिएसनले सडक सुरक्षामा टेवा पूर्याउने उद्देश्यले र्याली क्रस च्याम्पियनसिप र नेशनल अटो जिमखाना च्याम्पियनसिप–२०१७ प्रतियोगिता आयोजना गरेको नेपाल अटोमोबाइल्स एशोसिएसनका केन्द्रीय सदस्य निरोज खड्काले बताए।
पहिलो खेल र्याली क्रस च्याम्पियनसिपमा गाडी नं २६ का सुजन ओझा विजयी भए। उनले एक मिनेट छ सेकेण्डमा ८०० मिटरको दूरी पार गरेका थिए। त्यस्तै, दोस्रो हुनेमा गाडी नं २५ का विप्लव श्रेष्ठले एक मिनेट १८ सेकेण्डमा र तेस्रो हुने गाडी नं १२ का सुविन शाक्यले एक मिनेट २० सेकेण्डमा दूरी पार गरी क्रमशः दोस्रो र तेस्रो भएका थिए।
त्यस्तै, दोस्रोपटक भएको जिमखाना च्याम्पियनसिप खेलमा सुरेन्द्र प्रधानले ४४ सेकेण्डमा दूरी पार गर्दै प्रथम भए। सोही खेलमा विदुर पौडेलले ४६ सेकेण्डमा र रिक्की देउजाले ४८ सेकेण्डमा दूरी पार गरी क्रमशः दोस्रो र तेस्रो भएका थिए।
प्रतियोगितामा विजयी खेलाडीलाई काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले ट्रफी तथा पुरस्कार वितरण गरे। प्रतियोगितामा ४० वटा गाडीसहित खेलाडीको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गरेका थिए। ब्याञ्जुले नेपाल अटोमोबाइल्स एशोसिएसन र नेपाल मोटर स्पोर्टस् क्लबले धुलिखेलमा प्रतियोगिता आयोजना गरेर पर्यटकीय विकासमा थप टेवा पूर्याएको बताए। उनले समय र परिस्थितिले फड्को मार्दै गएको अवस्थामा उक्त खेल अहिले प्रतियोगिताका रुपमा मात्रै भएपनि पछि त्यसले व्यावसायिक रुप लिने बताए।
प्रतियोगितामा पहिलो हुने खेलाडीलाई इण्डोनेसियामा हुने जिमखाना च्याम्पियनसिपमा सहभागी हुन पाउने अवसर रहेको आयोजकले जनाएका छन्।