PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री



पहिलोपोस्ट

सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन्।

तमू ल्होसारको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको प्रस्ट पारे।

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक इतिहास बोकेको कांग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सन्दर्भमा कांग्रेसलाई शंका नगर्न आग्रह गरे।

प्रधानमन्त्री देउवाले अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सहज पारेकोप्रति धन्यवाद प्रकट गर्दै उहाँले आफू छिटोभन्दा छिटो नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गर्दै टुँडिखेलमा विभिन्न कार्यक्रम गरी नयाँ वर्ष ‘तमु ल्होसार’ पर्व मनाए। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ।

तमु संस्कृतिअनुसार पुस १५ गते खुशीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लम्जुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस १५ मा यो पर्व मनाउने गरिन्छ।

सोही अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नयाँ संविधानको कार्यान्वयनसँगै अब मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने बताए। यस्तै नेकपा (एमाले) का नेता पार्वत गुरुङले राज्यका हरेक संरचनामा आदिवासी जनजातिको समान सहभागिता हुनुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell