काठमाडौँ: निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई तत्काल निर्वाचन खर्च विवरण पेश गर्न निर्देशन दिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम निर्वाचन परिणाम प्राप्त भएको तीन साता भइसके पनि अधिकांश उम्मेदवारले निर्वाचन खर्च बुझाएका छैनन्।
निर्वाचन खर्च पेश नभएपछि आयोगले सार्वजनिक सूचना जारी गर्दै खर्च विवरण बुझाउन ताकेता गरेको हो।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७२ को दफा ७२(४) अनुसार निर्वाचनको परिणाम प्राप्त भएका मितिले ३५ दिनभित्र खर्च विवरण बुझाइसक्नु पर्ने व्यवस्था छ। खर्च विवरण नबुझाउने दल तथा उम्मेदवारलाई आयोगले कारबाही गर्नसक्ने कानुनी व्यवस्था छ।
अन्तिम परिणाम आएको ३५ दिनभित्र खर्च विवरण आयोग वा आयोगले तोकेको कार्यालयमा पेश गर्नुपर्ने ऐनको प्रावधान छ। सम्वन्धित जिल्ला तथा क्षेत्रीय निर्वाचन कार्यालयमा पनि विवरण पेश गर्न सकिनेछ।
योपटक प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचनमा भाग लिएका उम्मेदवारले २५ लाख रपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ। यस्तै, प्रदेशसभाका लागि १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ।
समानुपातिकतर्फ प्रतिनिधिसभाको उम्मेदवारको बन्दसूचीमा परेका उम्मेदवारले दुई लाख र प्रदेशसभाका उम्मेदवारले एक लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो।