PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

'नेपालमा चिनियाँ लगानी बढ्दो, १३ ठूला परियोजनामा ७० अर्ब लगानी'



अमर बडुवाल

'नेपालमा चिनियाँ लगानी बढ्दो, १३ ठूला परियोजनामा ७० अर्ब लगानी'

काठमाडौं: तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिनामा १३ ठूला परियोजनामा चीनबाट ७० अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

आर्थिक वर्ष २०७१/०७२ देखि चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा यो परिमाणको लगानी प्रतिवद्धता आएको हो। उद्योग विभागका अनुसार सबैभन्दा बढी सिमेन्ट उद्योगमा ४२ अर्ब रुपैयाँ लगानी आएको छ। चिनियाँ लगानीका एक अर्बभन्दा बढी लगानी भएका उद्योगको संख्या भने ६ वटा मात्र छ। यसमा तीन वटा सिमेन्ट उद्योग छन्।

विभागका अनुसार अन्य तीन वटामा दुर्इ वटा होटल र जलविद्युत आयोजना छ।

 

तीन सिमेन्ट उद्योगमा ४२ अर्ब

सबैभन्दा बढी चिनियाँ लगानी रहेको होङ्सी शिवम सिमेन्ट उद्योगमा चीनको २६ अर्ब १४ करोड रुपैयाँ लगानी छ।

नवलपरासीमा निर्माणाधीन यो उद्योग ०७२ मंसिर २८ गते विभागमा दर्ता भएको थियो। दर्ता भएसँगै निर्माण कार्य तीब्र रुपमा अघि बढाएको उद्योगले दुई वर्षमा सिभिलको काम लगभग सकेको छ। २०१८ को सुरुवातमै उत्पादन सुरु गर्ने घोषणा गरेको उद्योगले दैनिक ६ हजार टन सिमेन्ट उत्पादनको लक्ष्य राखेको छ।
नेपाली साझेदार शिवम सिमेन्टसँगको संयुक्त लगानीमा स्थापित उद्योगमा शिवमको ३० प्रतिशत (११ अर्ब २१ करोड रुपैयाँ) साझेदारी छ। नवलपरासीको वेणीमणिपुरमा निर्माणाधीन आयोजनामा ३७ अर्ब ३५ करोड रुपैयाँ लगानी रहेको छ। यो आयोजनाले ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिनेछ।

चिनियाँ लगानीकै ह्वासिन सिमेन्टको १४ अर्ब ८२ करोड रुपैयाँ लगानी स्वीकृत भइसकेको छ। धादिङ र मकवानपुरमा रहेको पानीखर्क चुनढुङ्गा खानी ६० करोडमा यो कम्पनीले किनेको थियो। ०७२ सालमा लगानी स्वीकृत गरेको ह्वासिनले ०७४ मंसिर २९ गते मात्र उद्योग विभागमा उद्योग दर्ता गरेको हो।

दैनिक तीन हजार टन सिमेन्ट र तीन हजार टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्यसहित कम्पनी दर्ता भएको छ। जनवरीदेखि उद्योग स्थापनाका लागि काम सुरु गर्ने तयारी छ। यो कम्पनीले लगानी बोर्डसँग प्रारम्भिक लगानी सम्झौंता गरिसकेको छ। नयाँ वर्ष लगत्तै उद्योग स्थापनाको काम अघि बढाउने बोर्डले जानकारी दिएको छ।

चीन सरकारको २० प्रतिशत शेयर रहेको ह्वासिनले विश्वमा ३० भन्दा बढी देशमा उद्योग स्थापना गरेको छ। विश्वमै सबैभन्दा ठूलो सिमेन्ट उद्योग भनेर चिनिने लफार्जमा पनि ह्वासिनकै लगानी छ। जसले वार्षिक ३७ करोड ४० लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्छ। सिमेन्ट उद्योगमा मात्र काम गरिरहेको ह्वासिन आर्थिक र प्राविधिक रुपमा दक्ष कम्पनी भएकोले सरकारले सहयोग गरेमा एक वर्ष भित्र सिमेन्ट उत्पादन गर्ने कम्पनीको दाबी छ।

ह्वासिनले पहिलोपटक सात लाख रुपैयाँको खानीलाई ६० करोड रुपैयाँ बोलकबोल गरेर किनेको हो। नवलपरासीमै स्थापना हुन लागेको चिनियाँ लगानीको तियानी सिमेन्ट उद्योगमा एक अर्ब ९० करोड रुपैयाँ लगानी हुने भएको छ।

चीनको सिचुवान तियानी ग्रुपको ७० प्रतिशत लगानी रहने उक्त उद्योगमा नेपालीको ३० प्रतिशत शेयर रहने छ। गत कार्तिकमा मात्र उद्योग विभागमा दर्ता भएको तियानीले दैनिक सात सय टन सिमेन्ट उत्पादन गर्नेछ। तीनवटै उद्योगमा गरि ४२ अर्ब ८६ करोड रुपैयाँ सिमेन्ट उद्योगमा मात्र लगानी आएको छ।

 

होटलमा तीन अर्ब

चिनियाँ लगानीका दुई होटलमा तीन अर्ब रुपैयाँ लगानी गरिएको छ। काठमाडौंमा स्थापना हुने वाल्डो डाईनास्टी होटल र दोदगु होटल दुवैमा चिनियाँ लगानी छ।

वाल्डो तीन सय बेडरुमको होटल हो। मकाउमा रहेको वाल्डो डाईनेस्टीको शाखा होटलको रुपमा काठमाडौंमा होटल स्थापना गर्न लागिएको हो। दोदगु भने १८० बेडरुमको होटल हो। यसमा १५ प्रतिशत नेपाली लगानी छ। वाल्डो डाईनास्टीमा दुई अर्ब र दोदगु होटमा एक अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ।

 

उर्जामा २२ अर्ब

लगानीको हिसावले दोस्रो ठूलो चिनियाँ आयोजना कालिगण्डकी अपर ७२ (६५ मेगावाट अपग्रेड) मेगावाटको जलविद्युत आयोजना परेको छ।

आर्थिक वर्ष (चालु आवको ५ महिना समेत)मा दर्ता भएका ठूला लगानीका उद्योगको विवरण

कुल २२ अर्ब रुपैयाँ लागतको उक्त आयोजनामा चिनियाँ कम्पनी सिनोहाईड्रोको २० अर्ब २४ करोड रुपैयाँ लगानी रहने उल्लेख छ। ०७० पुस ७ गते उत्पादन लाईसेन्स पाएको कालिगण्डकी अपरमा ९२ प्रतिशत चिनियाँ र नेपाली कम्पनी ट्रेडलिङ्क ग्लोबलको ८ प्रतिशत लगानी रहेको छ। आयोजनाले उत्पादन अनुमति पाएपनि काम भने अघि बढाएको छैन। समय बढेसँगै आयोजनाको लागत पनि बढिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell