
बाबियाचौर: आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका करिब एक हजार सात सय परिवार आबद्ध भएका छन् ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो। एक वर्षको अवधिमा एक हजार ६७४ परिवारका सात हजार १६० जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका समितिका जिल्ला प्रबन्धक अर्जुन पण्डितले जानकारी दिए।
स्वास्थ्य बीमाबापत रु ४३ लाख ७८ हजार ६२० योगदान रकम संकलन भएको छ। स्वास्थ्य बीमा गरेकामध्ये हालसम्म बेनी अस्पतालबाट दुई हजार ५१९ जनाले रु १३ लाख २९ हजार ९३६ र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५१ जनाले रु एक लाख ५३ हजार ५२४ बराबरको औषधि, उपचार सेवा प्राप्त गरेका समितिले जनाएको छ।
धौगागिरि गाउँपालिका– ७ ताकमका तुलसीनाथ सुवेदीले रु दुई हजार ५०० शुल्क तिरेर स्वास्थ्य बीमा गरेर रु १० हजार बराबरको उपचार सेवा निःशुल्क प्राप्त गरेको बताए। स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाएको सुवेदीले बताए।
बेनी अस्पताल, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङका साथै ती स्वास्थ्य संस्थाले सिफारिश गरेमा सूचीकृत भएका काठमाडौँ, पोखरालगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था रहेको छ।
पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य ४२५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सकिन्छ। पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही रु १० हजार गरी बढीमा रु एक लाखसम्मको सेवा पाइने बताइएको छ।
कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमका सेवा पाउनेछन्।
वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गर्न सकिन्छ। म्याग्दीमा ४३ जना दर्ता सहयोगी परिचालन भएका छन्। ४ नं प्रदेशको म्याग्दी, बागलुङ, कास्की, तनहुँ र गोरखासहित देशका २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ। रासस