
काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन्।
एमाले, सञ्चार इलाका कमिटीले उनकाे सम्मानमा आयोजना गरेको कार्यक्रममा भट्टराईले आयोगले आफूहरुसँगको भेटमा मतपरिणाम सार्वजनिक गर्ने भने पनि अहिलेसम्म सार्वजनिक नगरेको बताए।
‘कुन दलले कति पाएको छ भन्ने कुरा प्रष्ट छ। आयोगले हामीसँगको भेटमा एक दुई दिनमा सार्वजनिक गर्दछु भन्दछ’, उनले भने,‘तर आयोग कसैको दवावमा अहिलेसम्म परिणाम सार्वजनिक नगरेर बसेको छ।’भट्टराईले आयोगलाई कसैको दवावमा नभई आफ्नो विवेकले काम गर्न आग्रह गरे।
उनले राष्ट्रियसभाको निर्वाचनका लागि पुनः राजनीतिक दलले दर्ता गर्न आवश्यक नभएको बताए। वाम पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने भन्दै भट्टराईले कुनै दुर्घटना नभई चाँडै पार्टी एकता हुने बताए।
‘अब एकतापछि नेतृत्वको कसले गर्दछ भन्ने बहस गर्न आवश्यक छैन’, उनले भने,‘जनअनुमोदन भइसकेकाले एकता कुनै पार्टीको रहर मात्र होइन। वामपन्थीले अब चाँडै बृहत् कम्युनिष्ट आन्दोलन निर्माण गर्नेछन्।’
कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले भट्टराई जस्ता युवा नेता मुलुकका लागि आवश्यक रहेको र अब युवाले नेतृत्व गर्नुपर्ने बेला आएको बताए।रासस