
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महामानव विपी कोइरालाको नीति, आदर्श र सिद्धान्तलाई मनन गर्न नसक्दा यस पटकको चुनावमा पार्टीले हार व्यहोरेको बताएका छन्।
४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस व्यास नगर समिति तनहुँद्वारा आइतबार दमौलीमा आयोजित कार्यक्रममा पौडेलले विपी कोइरालाको आदर्श, सिद्धान्त र नीतिलाई काँग्रेसले आत्मसात् गर्न नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेको बताए।
पौडेलले कांग्रेस भित्रबाटै भएको अन्तर्घात र पार्टी सिध्याउन लागेका तत्वहरुका कारण चुनावमा पराजित हुनु परेको उल्लेख गर्दै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणित गराएर कांग्रेसले एउटा खुड्किलो पार गर्न सफल भएको बताए।
प्रतिनिधिसभालाई सन्तुलित बनाउन पनि राष्ट्रियसभामा सबै दलको प्रतिनिधित्व हुनुपर्नेमा उनले जोड दिए।रासस