PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

‘राजनीतिक अधिकार उल्लङ्घनका घटना घटे, महिला तथा बालबालिकामाथिका ज्यादती बढ्दो’



अनन्तराज न्यौपाने

‘राजनीतिक अधिकार उल्लङ्घनका घटना घटे, महिला तथा बालबालिकामाथिका ज्यादती बढ्दो’

विराटनगर: राज्य पक्षबाट गरिने मानव अधिकारको हनन् र ज्यादतीका घटना द्वन्द्वको व्यवस्थापन सँगसँगै कम हुँदै गए पनि महिला र बालबालिकामाथि हुने हिंसा र ज्यादती भने बढ्दो रूपमा पाइएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्कलन र सार्वजनिक गरेको तथ्याङ्कमा राज्य पक्षबाट भएका हनन् र ज्यादतीका घटना कम र महिला तथा बालबालिकाउपर भएका हिंसा वृद्धि हुँदै गएको उल्लेख गरिएको छ। इन्सेकको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका अनुसार सन् २०१७ मा पूर्वाञ्चलमा १ हजार ५९ जना पीडित भएका छन्। जसमध्ये राज्य पक्षबाट पीडित हुने व्यक्तिको सङ्ख्या ५६ मात्र छ। यसमा ५३ पुरुष र ३ महिला छन्।

गैर राज्यपक्षबाट भने यस अवधिमा १ हजार ३ जना पीडित भएका छन्। जसमा ८३८ महिला र ८ पुरुष छन्।

यसप्रकार राज्य पक्षबाट भएका ज्यादतीमा पुरुष र गैर राज्य पक्षबाट भएका घटनामा महिला बढी प्रताडित भएको पाइएको छ।

इनसेकका क्षेत्रीय प्रमुख सोमराज थापाले सन् २०१६ मा १ हजार ३५ पीडित भएकोमा २०१७ मा बृद्धि भएको बताए।

यस वर्ष हिंसामा पर्ने महिलाको सङ्ख्या अन्य घटनाभन्दा बढी छ । पूर्वाञ्चलमा ५४३ महिला यस्ता घटनाबाट पीडित भएका छन्। जसमध्ये बलात्कारका घटनामा १०१ जना, बलात्कारको प्रयासमा ५४, यौनजन्य दुव्र्यवहारका घटनामा २८, बहुविवाहमा ६८, मानव बेचबिखनमा २० र बोक्सीको आरोपमा अमानवीय व्यवहारअन्तर्गत ५ जना पीडित भएका छन्।

सबैभन्दा बढी महिला घरेलु हिंसाबाट २६७ जना पीडित भएको पाइएको छ।

बालअधिकार हनन् अन्तर्गत २ सय ३९ बालबालिका पीडित भएका छन्। जसमध्ये १२ शिशुको हत्या गरिएको छ। हत्याको प्रयासबाट १ बालिका पीडित भएकी छन्। बलात्कारबाट १६३ र यौनजन्य दुव्यर्वहारबाट ४७ जना पीडित भएका छन्।

यसबाहेक अमानवीय कार्यबाट २ र मानव बेचबिखनबाट ११ बालबालिका पीडित भए।

‘नागरिक र राजनीतिक अधिकारको हननमा कमी आउनु सकारात्मक हो’, प्रमुख थापाले भने, ‘महिलामाथि हुने हिंसामा वृद्धि हुनु तथा नाबालिकाउपर बलात्कार र यौनजन्य दुव्र्यवहार बढ्नु गम्भीर र शोचनीय विषय भएको छ।’

‘यस अवधिमा पूर्वाञ्चलमा हत्याका घटनामा ६० जनाले ज्यान गुमाउनु परेको छ’, सोमराजले भने, ‘जसमा राज्य पक्षबाट ६ जनाले ज्यान गुमाएका छन् । गैर राज्यपक्षबाट २५ महिला र २९ पुरुष गरी कुल ५४ जनाको हत्या गरिएको छ।’

गत वर्ष राज्य पक्षबाट ३ र गैर राज्य पक्षबाट ४६ जनाले ज्यान गुमाएको र यस वर्ष ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भएको प्रमुख थापाले बताए।

सन् २०१७ मा राज्य पक्षबाट भएको ६ जनाको हत्यामध्ये सप्तरीमा एमालेको आसभाको क्रममा संयुक्त मधेसी मोर्चा र प्रहरीको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जनाको ज्यान गएको थियो। साथै झापामा एक बालकको रहस्यमय मृत्युको विषयमा छानबिनको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएको थियो।

यस अवधिमा राज्य पक्षबाट ९ पुरुष घाइते भएका छन्। प्रहरीको गिरफ्तारी र यातनाका क्रममा एक महिलासहित ३७ जना पीडित भएको इन्सेकद्वारा अभिलेख गरिएको छ।

गैर राज्यपक्षबाट भएको घटनामा १८ महिला र ७ पुरुष गरी २५ जना पीडित भएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell