पोखराः पर्यटकीय स्थल सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवा मृत अवस्थामा फेला परेका छन्। निर्माणधीन भवनमा अर्का एक युवा गम्भीर घाइते अवस्थामा फेला परेका छन्।
मृतक दुवै जना ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा खटिएका मजदुर भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानको लागि प्रहरीले ११ जनालाई गिरफ्तार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
आइतबार अबेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो। निर्माणाधीन भवनमा काम गर्ने अन्य मजदुरले आफ्ना साथीहरु काममा नआएपछि खोजी गरेका थिए। खोजीको क्रममा उनीहरु बस्दै आएको कोठामा पुगेर हेर्दा २ जनालाई मृत र १ जना घाइते अवस्थामा भेटाएका थिए। उनीहरुको विस्तृत परिचय भने खुलेको छैन।
घाइते मजदुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्। मृतक र घाइते तीनै जनाको शरीरमा चोटपटक लागेको देखिएको प्रहरीले जानकारी दिएको छ। शरीरमा चोट देखिएकाले उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। तर, घटना के कसरी भयो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले मृतक तथा घाइतेका साथी, काम लगाउने व्यक्ति र स्थानीयसँग सोधपुछ गरी अनुसन्धान अगाडि बढाएको छ।
चार जना युवाहरु एउटै कोठामा सुतेको थिए। त्यसमध्ये २ जना मृत र एक जना घाइते अवस्थामा फेलापरेका छन् भने एक जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ। वेपत्ता मजदुरको खोजी भइरहेको प्रहरीले जनाएको छ।