
दमक : नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने बताएका छन्।
झापाको दमकमा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताए।
उनले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गरे। उनले भने,‘आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ, त्यसमा आयोग गम्भीर बनोस्।’
राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने नेम्वाङको दावी थियो। उनले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्नेसमेत बताए।