PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मेलम्ची खानेपानी काठमाडौं आउन अझै दुर्इ वर्ष लाग्ने



दिनेश खड्का

मेलम्ची खानेपानी काठमाडौं आउन अझै दुर्इ वर्ष लाग्ने

काठमाडौं :  प्रधानमन्त्री बन्नेवित्तिकै प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थल पुगे।०७३ असोज ७ गते सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्दै भने, ‘म निरीक्षणका लागि भन्दा पनि अनुगमनका लागि आएको हुँ।

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुनुपर्छ भन्ने सरकारको स्पष्ट धारणा छ। त्यसैले म आफैं महत्व दिएर भ्रमणमा आएको छु। मेरो निर्देशन छ, निर्धारित समयभन्दा पहिल्यै आयोजना सम्पन्न गरेर पुरस्कृत हुनुहोस्।’

यो निर्देशनपछि आयोजना प्रमुखले दशैं अगावै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काम भइरहेको जानकारी दिए।आयोजना प्रमुखले भनेजस्तै गरी दशैंमा मेलम्चीको पानी आएन।

आयोजना प्रमुखसहित खानेपानी तथा सरसफार्इ मन्त्रालयका उच्च अधिकारीले झुठो सपना बाँडेको पुष्टी भइसकेको छ। दशैंमा मेलम्चीको पानी नआएपछि तिनै अधिकारीले अर्को भाका सारे–मेलम्चीको पानी काठमाडौंमा वैशाखमा आउँछ।उनीहरुले बाँडेका यी सबै सपना मात्रै हुन्।

मेलम्चीमा कार्यरत प्राविधकहरुका अनुसार मेलम्चीको पानी काठमाडौंमा आउन छिटोमा एक वर्ष ढिलामा दुर्इ वर्ष लाग्छ। ‘एग्रेसिभ भएर काम गरे अझै वर्ष दिन लाग्छ,’ उनले भने, हेड बक्सको निर्माण सुरु गरिएकै छैन,अझै एक खण्डको टनेलको काम खन्नै बाँकी छ।

वालुवा छान्ने मेसिन राख्नका लागि स्ट्रक्चर निर्माण पनि थालिएको छैन।‘ उनले सबै संरचनाको काम सक्नै १० महिना पनि बढी लाग्ने भएकाले मेलम्ची वैशाखमा असम्भव भएको बताए।

ठेकेदारको लापरवाही, भूकम्प र भारतको नाकाबन्दी तथा सरकारको कमजोर अनुगमनले यस्तो अवस्था आएको हो।आर्थिक वर्ष २०५५/०५६ देखि मेलम्ची परियोजना सुरु भएको थियो।०६४ सालभित्र काठमाडौंमा पानी ल्याइपुर्याउने लक्ष्यसहित काम सुरु भएको थियो। टनेल तथा अन्य भौतिक संरचनाको निर्माण थालिएको १९ वर्ष पुरा भएको छ। 

५१८ मिटर  टनेल खन्न बाँकी 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गतको अम्बाथानदेखि काठमाडौको सुन्दरीजलसम्मको २७.५ किलोमिटर टनेल बनाएर मेलम्ची खोलाको पानी राजधानी ल्याउन लागिएको हो।

वाटर टनेलको लम्बाई २५.९ किलोमिटर छ। तीनवटा अडिट टनेल सहित २७.५ किलोमिटर कुल लम्बाई रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। अडिट टनेल भनेको मुख्य टनेल खन्नका  लागि त्यस स्थानसम्म जानका प्रयोग गरिने सहयोगी टनेल हो। 

 यो २७.५ किमी लम्बाईको  टनेललार्इ समयमै सम्पन्न गर्ने  तीनवटा खण्डमा विभाजन गरेर काम अघि बढार्इएको थियो।यो मध्ये दुर्इवटा खण्डको काम सकिएको छ। 

तीनखण्डमध्ये सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड ९.४ किलोमिटर लम्बार्इको टनेलको काम गत पुसमा नै ब्रेक थ्रु भैसकेको छ।त्यस्तै दोस्रो लामो ग्याल्थुम–अम्वाथान खण्ड ८.२ किलोमिटरको गत शुक्रबार टनेलको काम पूरा  भएको छ।

अब सिन्धु ग्याल्थुम खण्डको सुरुङको काम बाँकी छ।साढे सात किलोमटिरको यो खण्डको शनिबार वेलुकीसम्म ४ सय १५ मिटर बाँकी रहेको समितिका प्रवक्ता पन्तले जानकारी दिए।

उनले शनिबार व्रेक थ्रु भएको खण्डमा सुरुङमार्ग जोडिएपनि अडिट टनेलबाट भित्र अम्बाथान –सिन्धु जोड्नका लागि १ सय ३ मिटर बाँकी रहेको जानकारी दिए।यो सर्भे गरेपछि मात्रै थप निर्माण अघि बढाउन सकिन्छ।

कठिन खालको भौगोलिक अवस्था र चट्टान आउन थालेकाले यो खण्डमा दैनिक ३ देखि ४ मिटर मात्रै काम हुने गरेको पन्तले जानकारी दिए। यहि गतिमा काम भएमा तीन महिना सुरुङ मात्रै खन्न लाग्छ।प्राविधिकका अनुसार टनेल सकेर फिनिसिङको सबै काम पुरा गर्ने ८ महिना भन्दा बढी लाग्छ। समितिका प्रवक्ता पन्त पाँच महिना बढी लाग्ने स्वीकार्छन्। ‘ठेकेदारले व्यवस्थापन राम्रो नगरे ६/७ महिना लाग्न सक्छु’ उनले भने ।

हेड वक्सको कामै अघि बढेन

हेलम्वु गाउँपालिकाको हेडबक्स(बाँध)बनाएर टनेलसम्म पानी ल्याउन लागिएको छ।१०.४९ हेक्टर क्षेत्रफलमा यो हेड बक्स निर्माण हुनेछ।
हेडबक्स निर्माणको काम अझै अघि बढ्न सकेको छैन।

ठेकेदार कम्पनीले हेडबक्स बस्ने स्थानमा वरिपरि पहाड भएकाले पहिरो जान पहाड काटेर ग्राभेल मात्रै मात्र राखेको छ। गत असोज अघिनै निर्माणसक्नुपर्ने यो काम ठेकेदारले अझै सुरु गरेको छैन्। हेडवक्स निर्माणका लागि कम्तीमा चार देखि पाँच महिना लाग्ने आयोजनाले जनाएको छ। हेडवक्सबाट डार्इभर्सन गरेर टनेलसम्म पानी ल्याउनुपर्छ।

उक्त डार्इभर्सनको काम पनि सुरु भएको छैन।हेडबक्स र यो खोला मिसिने स्थानमा डार्इभर्सनलार्इ असर नगर्नेगरि ग्याविन लगायतका संरचना निर्माण काम सुरु गरिएको  छ। रिवर्मा खोला सानो भएपनि बर्खामा यो ठूलो हुन्छ।

करिव २४ किमी टनेल फिनिसिङको काम गर्न बाँकी 

सात महिना अघिबाट टनेलको फिनिसिङको काम थालिएपनि भर्खर तीन किलोमिटर मात्र फिनिसिङको काम सकिएको पन्तले जानकारी दिए। उनले पछिल्लो समय फिनिसिङ गर्नका लागि ८ वटा मिक्स्चर आयोजना स्थलमै पुर्याएको जानकारी दिए।

छ महिना अघि नै मेसिन ल्याएर काम थाल्नुपर्ने भएपनि ठेकेदारले बल्ल मेसिन ल्याएको उनले बताए।दैनिक रुपमा चार वटा खण्डमा यो मिस्क्चर प्रयोग  गरि काम गरिनेछ। जसले अधिकतम ५० मिटर मात्रै दैनिक फिनिसिङको काम गर्न सक्छ।

यो गतिमा सुरुङ फिनिसिङका काम हुने हो भने दैनिक २ सय मिटर फिनिसिङ हुन्छ। मासिक ६ किमी सुरुङमार्ग फिनिसिङ हुन्छ।सुरुङको फिनिसिङ गर्न मात्रै चार महिना लाग्छ।

याङग्री र लार्केको काममा पनि ढिलार्इ 

मेलम्ची उपआयोजना ३ अन्तर्गत याङग्री र लार्के खोलाबाट १७/१७ करोड पानी थपेर मेलम्चीसहित ५१ करोड लिटर पानी राजधानी ल्याउने योजना छ।

विस्तृत अध्ययन प्रतिवेदन तयार पारिरहेको  इजिप्टको इप्टिसा परामर्शदाता कम्पनीले यहि डिसेम्वरमा प्रतिवेदन बुझाउने समयसीमा भएपनि तीन महिना समय थप मागेको छ।

बर्खायाममा काम गर्न नसकिएको भन्दै समय थप मागेको समितिका प्रवक्ता पन्तले जानकारी दिए।याङग्री र लार्केबाट २०२१ सम्ममा ५१ करोड लिटर पानी राजधानी ल्याउने योजना छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell