
काठमाडौं : विवेकशील साझा पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ।
पार्टीले विज्ञप्ती जारी गरी सत्ता हस्तान्तरण गर्नुको सट्टा मन्त्रिपरिषद्ले दुरगामी महत्वका निर्णयहरु गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा गर्नेतर्फ ध्यान दिंदा कतै सत्ता लम्ब्याउने खेल त भइरहेको छैन भन्ने प्रश्न खडा भएको जनाएको छ।
उसले कानुनी छिद्र खोजेर वा कानुनकै अपव्याख्या गरेर यो अभ्यासमा विलम्ब गर्न खोज्नुलाई जायज मान्न नसकिने बताएको छ। विज्ञप्तीमा भनिएको छ,‘ मन्त्रिपरिषद्ले दुरगामी महत्वका निर्णयहरु गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा गर्नेतर्फ ध्यान दिंदा कतै सत्ता लम्ब्याउने खेल त भइरहेको छैन भन्ने प्रश्न खडा भएको छ। यो प्रश्नको जवाफ वर्तमान प्रधानमन्त्रीले सहज सत्ता हस्तान्तरणको प्रक्रिया शीघ्र सुरु गरेर दिनुपर्दछ भन्ने हाम्रो ठहर छ।’
साझाले राष्ट्रिय सभालाई आफ्ना दलका नेता कार्यकर्ताहरुको व्यवस्थापन गर्ने थलोको रूपमा मात्र नबुझेर राष्ट्रिय जीवनमा ख्याती कमाएका प्रवुद्ध नागरिकहरुको उपस्थिति गराउन पनि दलहरुको ध्यानाकर्षण गराएको छ।