
जकार्ता : इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ।
इन्डोनेसियाको बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा प्रवेश गरेको केही मिनेटमा नै डुङ्गा दुर्घटना भएको जनाइएको छ। डुङ्गामा करिब ४५ जना सवार रहेका र अझै कैयौँ बेपत्ता रहेका छन्।
उद्धारकर्ताले ३३ जनाको उद्धार गरेका छन्। हावाहुरीका कारण उद्धारकार्यमा कठिनाई भएको जनाइएको छ। दुर्घटनाको कारण प्रष्ट हुन सकेको छैन। तर बेपत्ता भएका यात्रुको एकिन सङ्ख्या पत्ता लगाउने प्रयास भइरहेको वरिष्ठ सरकारी अधिकारी गुस्ती अन्वार मुल्यादीले जानकारी दिए।
इन्डोनेसियामा करिब १७ हजार द्वीप क्षेत्र रहेका छन्। त्यसैले यहाँ बारम्बार डुङ्गा दुर्घटना हुने गरेको पाइन्छ। गत जुलाइमा पनि सोही मार्ग तराकानबाट तानजुङ सेलोरतर्फ गइरहेको एक डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो।
त्यसैगरी गतवर्षको जनवरी १ मा पनि नयाँवर्ष मनाउन हिँडेका २३ जनाको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको थियो। रासस/एएफपी