.jpg)
काठमाडौं : सावित्रा भण्डारीले एकै खेलमा १२ गोल गर्ने कीर्तिमान बनाएपछि १६औँ राष्ट्रिय महिला लिग फुटबलमा नेपाल एपीएफले मध्यपश्चिमाञ्चललाई २६-० को फराकिलो अन्तरले पराजित गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको समूह की को खेलको दुवै हाफमा सावित्राले ६-६ गोल गरिन्। खेलको तेस्रो मनेटमै गोलको खाता खोलेको सावित्राले १५औँ, १७औँ, २४औ, ३४औँ, ४०औँ, ४७औँ, ५२औँ, ५९औँ, ६०औँ, ७७औँ र ९०+१औँ मिनेटमा गोल गरिन्।
यस्तै एपीएफको फरिलो जितमा अनिता केसी र अन्जली योन्जनले ४-४ गोल गरिन् भने रेनुका पौडेल र अनिता बस्नेतले २-२ गोल गरिन्।
यस्तै सोमबारै भएको समूह बी को पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीले पश्चिमाञ्चललाई १२-० ले पराजित गरेको छ।
आर्मीको जितमा दिपा राई एक्लैले ५ गोल गरिन् भने कप्तान कृष्णा खत्रीले ह्याट्रिक गरिन्। यस्तै इन्दिरा राईले २ तथा पुजा राना र शर्मिला थापाले समान १ गोल गरिन्।