
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यानचेष्टर युनाइटेड र लिभरपुल विजयी भएका छन्। एभरटनलाई उसैको मैदानमा २-० ले पराजित गर्दै युनाइटेड अंक तालिकामा दोस्रो स्थानमा फर्किएको छ।
युनाइटेडको जितमा एन्टोनी मार्सिएल र जेस लिनगार्डले दोस्रो हाफमा गोल गरे। जितपछि २२ खेलबाट ४७ अंक जोडेको युनाइटेडले चेल्सीलाई पछि पारेको हो। एक खेल कम खेलेको चेल्सी ४५ अंकका साथ तेस्रो स्थानमा छ। युनाइटेड अझै पनि शीर्ष स्थानको म्यानचेष्टर सिटीभन्दा १२ अंकले पछाडी छ।
उता रागनार क्लाभानले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि लिभरपुलले बर्नलीलाई २-१ ले हराएको छ। सबै तिन गोल दोस्रो हाफमा भएको थियो।
निर्धारित समयको खेल १-१ को बराबरी भएपछि इन्जुरी टाइमको चौथो मिनेटमा क्लाभानले विजयी गोल गरे। त्यसअई साडियो मानेले ६१औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपनि खेल सकिन ३ मिनेट अगाडि जोहान बर्ग गुडमुन्डसनले बराबरी गोल फर्काएका थिए।
जितपछि २२ खेलबाट ४४ अंक जोडेको लिभरपुल चौथो स्थानमा यथावत छ भने तेस्रो स्थानको चेल्सीसँग अंकदूरी १ मा झारेको छ। चेल्सीले एक खेल कम खेलेको छ।