PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

नारायणगढ–मुग्लिन सडकखण्ड आज रातिदेखि दैनिक ६ घण्टा बन्द हुने



राजेन्द्र आचार्य

नारायणगढ–मुग्लिन सडकखण्ड आज रातिदेखि दैनिक ६ घण्टा बन्द हुने
फाइल फोटो

चितवन :  नारायणगढ–मुग्लिन सडकखण्ड आजरातिदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक बिस्तारको कामलाई समयमा नै सक्न आजदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने भएको हो।

सडक निर्माणमा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। 

यसअघि बसेको सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र दिउँसो एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको थियो।

ट्राफिक प्रहरीका अनुसार राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएपछि नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीसाधनलाई दासढुंगाको मानव बस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको छ। 
यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ।काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ। 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको बताए।

यस्तो छ बन्दको रुट : 

काठमाडौंबाट छुट्ने नाइट बसहरु राति २२:०० बजे भित्र मुग्लिन बजार पार गरिसक्ने र पूर्व तथा पश्चिमतर्फवाट काठमाडौं–पोखरा जाने बसहरु बिहान ३ बजे रामनगर क्रस गर्ने गरी समय व्यवस्थापन गरी आउने।

काठमाडौंबाट नारायणगढतर्फ आउने मालबाहक सवारीहरु राति २१:०० बजे नै लेवाटर पार गरिसक्ने र सो पछि आउने मालबाहक सवारी लेवाटार ईलाकामा एकलाईनमा बिहान ४ बजेसम्म बस्ने।

पूर्व वा पश्चिमवाट मुग्लिङतर्फ जाने मालबाहक सवारीहरु राति २१:०० बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरिसक्ने र सो पछि आउने मालबाहक सवारी भतेरी जंगल ईलाकामा एकलाईनमा बिहान ४:०० बजेसम्म बस्ने।

सवारी रोकिने स्थानहरु रामनगर-भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिङ बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्ने।

राति २२:०० बजेदेखि बिहान ४ बजेसम्म नारायणगढ-मुग्लिन सडक खण्डमा सुरक्षाको दृष्टिकोणले कुनै पनि सवारी छोड्न नसकिने हुँदा आफ्नो यात्राको व्यवस्थापन गर्ने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell