बनेपा : काभ्रेमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयबासीले राजमार्ग अवरुद्ध गरेपछि आज बिहान प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरी सडक खुलाएको छ।
धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए। उनले भने,‘दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, त्यसलाई खुलाउन अश्रुग्यास प्रहार गरेका हौँ।’
आइतबार काठमाडौँबाट ओखलढुंगा गइरहेको बा३ख ५९५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी नमोबुद्ध नगरपालिका–१ की ३७ वर्षीया फूलमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा सोमबार मृत्यु भएको थियो।
क्षतिपूर्तिका विषयमा कुरा नमिलेका कारण स्थानीयबासीले राजमार्ग अवरुद्ध गरेका थिए।रासस