कवि सरस्वती प्रतीक्षाले आफनो फेसबुक वालमा आज बिहान एउटा आव्हान गरेकी छिन्। आफ्ना साथीभाइहरुको नाममा त्यो आव्हान के गरेकी छिन, हाम्रा तमाम आडम्बरलाई चुनौति दिएकी छिन् – राष्ट्रियताका नाममा आफ्नो जन्मको हुँकार सुनाउन आफै आमाको यौनाङ्क खोतल खातल पारेर दुनियाँलाई रमिता नदेखाउँ साथी हो।
अनि, आजकै कान्तिपुर दैनिकमा पत्रकार कृष्ण ज्ञवालीले समाचार लेखेका छन् – भूकम्प पीडितसँग (कर्मचारीले खाए) साढे सात करोड घूस। समाचार पढेर एकजना साथीले प्रतिक्रिया व्यक्त गर्दै भने – भन त यार यस्तो पनि हुन्छ? मलाइ त समाचार पढ्दा पढ्दै यहाँका कर्मचारीको प्रवृत्ति देखेर घीन लागेर आयो।
अनि, हिजोको नागरिक दैनिकमा पत्रकार सुरेन्द्र पौडेलले समाचार लेखेका छन – पहुँचवालाको नेपाल! एक वर्षमा सरकारले बाँड्यो ८३ करोड।
अनि, आजको सर्वाधिक महत्वपूर्ण समाचार लेखेका छन् अन्नपूर्ण पोष्ट दैनिकमा पत्रकार रामकृष्ण अधिकारीले – दाहाल फकाउँदै कांग्रेस–राजपा।
अब हामी के गरौँ साथी हो ?
एकजना मनोविश्लेषकका अनुसार, अरु तीन वर्ष यस्तै अवस्था रहने हो भने नेपालका पचास प्रतिशतभन्दा बढी युवा मानसिक रोगी हुनेछन्।
विश्वमा अग्लो हिमाल,
काखमा हाम्रो नेपाल
हाम्रा राजा ठूला छन्
हाम्रै देश विशाल।
चालीस पैंतालिस वर्ष अघिसम्म स्कूलका केटाकटी यही गीत गाउँथे। त्यतिबेला गीतमा लेखिएका सबैकुरा सही थिए। हिमाल अग्लो थियो, देश विशाल थियो र राजा ठूला थिए। पछि थाह भयो हिमाल अग्लो भए पनि, देश विशाल भए पनि, राजा ठूला थिएनन्। उनी आफ्नै परिवारको स्वार्थमा अल्मलिएका थिए।
त्यसपछि जनताले राजा हटाए। तर, आफ्नो पारिवारिक स्वार्थमा नअलमलिएका एकजना पनि यस्ता मानिस भेटिएनन् जसले जनताको सेवा निस्वार्थ गरुन।
हुँदाहुँदा परिस्थिति यस्तो उत्पन्न भयो कि सरस्वती प्रतीक्षाजस्ता कविहरु आफ्नी आमाका विरुध्द भइरहेको बलात्कार बारे सांकेतिक कविता लेख्न थाले। कृष्ण ज्ञवालीजस्ता युवा पत्रकार घूसको घीनलाग्दो तस्बिर सप्रमाण प्रस्तुत गर्न लागे। सुरेन्द्र पौडेल जस्ता युवा पत्रकार सरकारले सित्तैमा बाँडेको अकूत रकम स्पष्ट हुने गरी अंक र अक्षर दुवैमा लेख्न थाले। अनि, पत्रकार रामकृष्ण अधिकारी लेख्न थाले- दाहाल फकाउँदै कांग्रेस राजपा।
अब, दाहाल जो अव्वल मानिएका “क्रान्ति पुरुष” थिए उनको “स्टेटस” भयो नगरबधुको। लोकतन्त्रको हड्डी समातेर बसेका कांग्रेस र राजपा दुवै पार्टीका नेता त्यस्तो पार्टीको नेतालाई फकाउन थालेका छन् जो भरखर भएको संसदीय चुनावमा दोस्रो ठूलो पार्टी भएको छ र जुन पार्टी यतिबेला आफ्नै दुश्मनसँग सहकार्य र सहगमन गर्ने तयारीमा लागेको छ।
यो अवस्थामा देश विकास चोकेमा परेको छ। शासन जगहँसाइ भएको छ। चुनावमा हारेको पार्टी विधि र प्रक्रियाका नाममा लिसो झैं टाँसिएको छ सरकारसँग। सरकार छाडिदिनु नि। सनातनदेखि नै जुन सरकार भए पनि विधि र प्रक्रिया पूरा हुँदै आएका छन्। पूरा भइ नै हाल्दछन्। एमाले, माओवादी घूसको कुरा त्यस्तै उस्तै हो। हिजो लोकमान थिए आज दीप बस्नेत छन्। अनुहार अलग भए पनि माल एकै हुन्। पत्रकार कृष्ण ज्ञवाली घूसको पर्सन्टेज निकालेर बसेका छन् – कसले कति पायो ? पत्रकार सुरेन्द्र ८३ करोड रुपैयाँको दामासाही बितरणपछिको नाम–नामेसी उपलव्ध गर्न लागेका होलान्। त्यो नभइ समाचार प्रकाशनको अन्तिम तयारी पूरा नहोला। रामकृष्ण कार्यकर्ताको खेदाइबाट भागाभागमा परेका होलान्।
“यो देश सुध्रिन्छ। यसमा सुध्रिने पोटेन्सियल छ। जनता साधारण छन, सीधा साधा। यो सानो देशको उन्नति गर्न हामीले जानेका छौं,” धेरै मानिसले भन्ने गरेका छन्। कुरा साँचो जस्तो लाग्दछ। तर, जानेका छौं भन्नेहरु भाग्दछन्।
देश सुधार्न धेरै लागेका छन्। यता पनि तिनको नाम जम्मा हुँदैछ।