PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

५ अर्बको एउटा घर जसभित्र अटाउँदैछ सिंगो ठमेल, पाँच तारे होटेल र तीन सिनेमा घर



पहिलोपोस्ट

५ अर्बको एउटा घर जसभित्र अटाउँदैछ सिंगो ठमेल, पाँच तारे होटेल  र तीन सिनेमा घर

  • वसन्तराज उप्रेती -
काठमाडौं : ​​​​​एउटै छानोमुनि मानिसहरु बेग्लाबेग्लै काममा जुटेका छन्। एकै छानोमुनि भए पनि काम गर्नेहरु भने फरक फरक कम्पनीका लागि काम गरिरहेका छन्।

कतै पार्टेसन चलिरहेको छ त कतै सजावट। कतै बिजुलीको तार तान्दैछन्। कतै रङ रोगन चलिरहेको छ। कतै एयर कन्डिसन जोड्नेहरु। फायर प्रोटेक्सनको काम गर्नेहरु पनि उत्तिकै छन्। मार्बल घोट्ने र प्लम्बिङ पनि एकै साथ चलिरहेको छ। दैनिक १ सय ५० भन्दा बढी मानिसहरु खटिएका छन् दिनरात।

बेसमेन्टको पार्किङमा गाडीहरु भित्रिन थालेका छन्। ठमेललाई यातायातमुक्त क्षेत्र बनाएपछि यो भवनमुनि पार्किङ गर्नेहरुको संख्या बढ्दो छ। १ सय ५० गाडी अटाउने पार्किङमा कुनै शुल्क लिइएको छैन। यो हो ठमेलको छायाँ सेन्टर। जनबरी १५ देखि आंशिक रुपमा सञ्चालनमा आउन लागेकाले कामदारहरु जोडतोडका साथ खटिएका छन् यहाँ। 'अबको एक हप्ताभित्र होटल र मलको सेक्सन छुट्टिन्छ। त्यसपछि मलको डिस्ट्रिब्युसन सुरु हुन्छ र होटलको भित्री काम सुरु हुन्छ,' छायाँ सेन्टरका प्रवर्द्धकसमेत रहेका सुमन पाण्डेले भने।

काठमाडौं केन्द्र ठमेलभित्रै सिंगो ठमेललाई अटाउने लक्ष्य राखेर ४ वर्षअघि सुरु भएको सेन्टर नेपालकै सबैभन्दा ठूलो मल हो। ५ अर्ब रुपैयाँमा तयार हुँदै गरेको छायाँ सेन्टरको सुरुवात क्युएफएक्स सिनेमाको लन्चसँगै हुनेछ। यसको लागि सञ्चालकहरुले समय तोकेका छन् १५ जनवरी २०१८। एक वर्षपछि यही भवनमा पाँच तारे स्टारउडको एलफ्ट होटल ओपनिङ भइसक्नेछ।

होटलमा पनि काम जारी छ। 'यस वर्ष होटलबाहेक छायाँ सेन्टर पूर्ण रुपमा सञ्चालनमा आइसक्छ, 'पाण्डेले भने, 'यहाँ सबैभन्दा पहिले क्युएफएक्सको सुरुवात हुनेछ।'सिभिल कन्ट्याक्टर जनवरी ३१ बाट विदा भइसक्ने छ प्रोजेक्टबाट।

ठमेल विदिन ठमेल 

'छायाँ सेन्टरको मुख्य थिम भनेकै ठमेल विदीन ठमेल हो, छायाँ सेन्टरलाई ठमेलको पनि क्रिम बनाउन खोजेका हौँ,' पाण्डेले भने।

छायाँ सेन्टरभित्र एक सय सत्तरी कोठे पाँच तारे होटल, दुई सय पचास वटा पसल, एक हजार मानिस अट्ने ब्याङ्केट, पाँचवटा कन्फ्रेन्स हल, डिस्कोथेक, तीनवटा सिनेमा हल, स्विमिङ पुल, अन्तर्राष्ट्रियस्तरका ब्राण्डेड कफी सप, गिफ्ट सप, सातवटा रेष्टुरेन्ट, बुटीक,मसाज सेन्टर, बैंक तथा वित्तीय संस्था, गहना पसलदेखि टुर एन्ड ट्राभल एजेन्ट्ससम्म अटाउनेछन्।

८० प्रतिशत पसल सोल्ड आउट भइसकेको छ छायाँ सेन्टरको। यी पसलहरुले साजसजावट थालिसकेका छन्। बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो स्पेस किनिसकेका छन्।भूकम्प र नाकाबन्दीका बाबजुद काम नरोकिएको छायाँ सेन्टरमा दुई महिनाभित्र नै पसलहरु ओपनिङ हुनेछन्। फुडकोर्ट र रेस्टुराँहरु पनि चल्न थाल्नेछन्। नारायणहिटी दरबारको पश्चिमको विशाल भवनमा झलमल्ल हुँदा यो एउटा सेन्टरले मात्र झन्डै ३.५ मेगावाट बिजुली खपत गर्नेछ फूल अपरेसनमा आउँदा।

१६ तल्लाको भवनमा प्रवेश गरेपछि ग्राहकले नौलोपनको आभाष गर्न सक्ने पाण्डेको दावी छ। भवनमा छायाँ सेन्टरका अध्यक्ष तथा चर्चित व्याङ्कर पृथ्वीबहादुर पाण्डेले संकलन गरेका अन्तर्राष्ट्रिय स्तरका चित्रहरुको आर्ट ग्यालरी रहने छ। भवनमा इटालियन मार्बल लगायतका टप क्वालिटीका सामाग्रीको प्रयोगले फेन्सी फिनिसीङ हुनेछ। दश हजार स्क्वायर फिटको कोर्टयार्डमा सर्वसाधारणले कोजी एम्बिपयन्सको अनुभुति गर्न सक्ने पाण्डेले बताए। उनका अनुसार भवन निर्माणमा नाफाको लागि स्पेस कम्प्रमाइज गरिएको छैन।

छायाँ सेन्टरको प्रमुख उद्देश्य भनेको एकै ठाउँमा सबै सुविधा पुर्याएउनु हो। ह्यान्डीक्राफ्ट खरिद गर्न सक्नेछन्। नेपाली पहिचान झल्काउनेखाले ह्यान्डीक्राफ्ट नै नपाउने भएकाले कसरी सकिन्छ त्यसको प्रवर्द्धन गर्ने पाण्डेले बताए।


मल्टिप्लेक्सभित्रको पहिलो पाँच तारे

मल्टिप्लेसको संख्या बढ्ने क्रममा रहे पनि यो नेपालको पहिलो मल्टिप्लेक्स हो जहाँ पाँच तारे होटल पनि अटाउँदैछ। अन्तर्राष्ट्रिय फेन्चाइजका रुपमा रहने होटलले ठमेलमा 'हाइ इन्ड' पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ।

सेराटन चलाउने स्टारउड ग्रुप अन्तर्गतको एलफ्ट ब्राण्डको व्यवस्थापनमा एक सय सत्तरी कोठायुक्त पाँच तारे होटल संचालन आउने छ। अहिले होटल सजावटको काम पनि एलफ्टले गरिरहेको छ। होटल फ्रेन्चाइज मोडलमा गए पनि व्यवस्थापनबाहेक सबै लगानी छायाँ सेन्टरले नै गरेको हो। 

यहाँ क्यासिनो पनि हुनेछ। कुन क्यासिनो आउने भन्ने भने अझै तय भइसकेको छैन। 'नेगोसिएसन चलिरहेको छ,' पाण्डेले भने, 'केही दिनमा नै टुंगो लाग्नेछ।'

विशेष डिजाइनमा बनेको होटलका हरेक रुमबाट हिमाल देखिन्छ या कोर्टयार्ड। होटल पाँचौ तल्लाबाट सुरु भएकाले हिमाल हत्तपत्त छेकिन्न।
एक वर्षमा होटल संचालन सुरु भएसँगै छायाँ सेन्टर फूल फ्लेज्ड अपरेसनमा आउँछ।


मन्दीबाट उठेको जग

यो प्रोजेक्ट जतिखेर सुरुवात भयो, त्यतिखेर आर्थिक मन्दीले गिजलेको थियो। यति ठूलो प्रोजेक्टलाई सफल हुने विश्वास कमैले गरेका थिए।

रियलस्टेटमा लगानी गर्नु बालुवामा पानी हाल्नु झैं थियो। 'छायाँ सेन्टर निर्माण सुरु हुँदा समग्र रियलस्टेट खस्किएको अवस्था थियो। त्यतिखेर अरु मलहरु पनि डाउन नै थिए,' पाण्डेले सुरुवाती दिन सम्झिँदै भने, 'हामीलाई त्यतिखेर कमैले विश्वास गरेका थिए। तर पनि लगानीका साथै काम एक दिन पनि रोकेनौँ। अहिले लगभग सबै कोठा बुकिङ भइसके।'

मलभित्रका स्पेस धेरै बिक्री भए पनि केहीमा छायाँ सेन्टरको साझेदारी रहन्छ। क्युएफएक्स तथा फुड कोर्ट र केही कम्पनीसँग सेन्टरको वित्तीय साझेदारी रहेको छ। 
 

सञ्चालनको मोडालिटी के?

'छायाँ सेन्टर पूर्णरुपमा संचालनमा आउन थालेलगत्तै यसको सञ्चालनका लागि एउटा कमिटी गठन हुनेछ।

यस व्यापारिक केन्द्रले स्पेस बिक्रीमात्र गरेको छैन, आफ्ना प्रडक्ट र सर्भिस पनि उपलब्ध गराएको छ। साथै साझेदारी पनि छ। त्यसैले सञ्चालनको मोडालिटी तयार गर्दा मेन्टिनेन्स शुल्कलाई घटनाउने रणनीति लिएको छ।

'हाम्रो रणनिती अनुसार सम्भवतः यहाँ स्पेस लिनेहरुले मेन्टिनेन्स फि तिर्नु पर्दैन,' उनले भने। बिल्डिङ स्पेस सबै सोल्ड आउट भइसकेपछि पनि पार्किङ, होडिङ तथा भित्र राखिने विज्ञापनबाट मेन्टिनेन्सका लागि खर्च जुटाउने तयारी छ। एक किसिमले यहाँ स्पेस लिनेहरुको सेयर रहने छ त्यसमा।

होटल संचालनमा आएसँगै छायाँ सेन्टरमा हाइड्रोलिक पार्किङ सेवा संचालनमा आउने उनले बताए। उनका अनुसार हाल एक सय पचास सवारी पार्किङ गर्न मिले पनि हाइड्रोलिक पार्किङ व्यवस्थासँगै गाडी र मोटरसाइकल गरी ६ सय सवारी अटाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell