.jpg)
काठमाडौं : नेपाल पुलिस र मध्लेयमाञ्चलले १६औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा मंगलबार जित हात पारेका छन्।
पुलिसले समूह ए मा सुदूरपश्चिमलाई २-१ ले हरायो। एक गोलले पछि परेको अवस्थामा पुलिसले दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित हासिल गर्यो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १६औँ मिनेटमा चन्द्र भण्डारीले गोल गर्दै सुदूरपश्चिमलाई पहिले अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा १-० को अग्रतालाई सुदूरपश्चिमले कायम राख्न सकेन। पुलिसका लागि ५७औँ मिनेटमा निरु थापाले बराबरी गोल गरिन्। त्यसको ८ मिनेटपछि निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई जित दिलाइन्।
यसैगरी समूह ए कै अर्को खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ। मध्यमाञ्चलका लागि रस्मी कुमारी घिसिङले २ तथा कप्तान मेनुका नगरकोटी र सविता राना मगरले १-१ गोल गरिन्।