
काठमाडौं : नेपालको मैत्री तेक्वान्दो डोजाङ १२औं अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा मंगलबार टिम च्याम्पियन बनेको छ। मैत्रीले ११ स्वर्ण, ८ रजत र ११ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको हो।
इटहरी रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा नेपाल आर्मी १० स्वर्ण, ६ रजत र १२ कांस्य हात पार्दै दोश्रो भयो भने सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब ८ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ तेश्रो भयो। नेपालबाट सहभागी टिम मध्ये उक्त टिमहरुले शीर्ष तीन स्थान हात पारेका हुन्।
राष्ट्रिय खेलकुद परिषद् को विशेष सहयोगमा आईओएफटीसीद्वारा आयोजित प्रतियोगितामा सहभागी विदेशी टिममध्ये अमेरिकन टिम प्रथम भयो। अमेरिकाले ४ स्वर्ण, ३ रजत र १ कांस्य प्राप्त गर्यो। ४ स्वर्ण, २ रजत र ३ कांस्यसाथ बंगलादेश दोश्रो तथा १ स्वर्ण र ३ रजतसाथ युके तेश्रो भयो।
प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा भारतका अभिषेक यादव तथा महिलामा नेपालकी दक्षिणा ठकुरी उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही ५० हजार नगद पुरस्कार पाए। पुम्सेको पुरुषमा भारतका बेदाशिष दास तथा महिलामा नेपालकी सीना मादेन उत्कृष्ट खेलाडी चुनिए। उत्कृष्ट दुवैलाई समान २५–२५ हजार नगद पुरस्कार पाए।
प्रशिक्षकतर्फ पुरुषमा भारतका सौरभकुमार सिंह तथा महिलामा नेपालकी विकेश विडारी उत्कृष्ट घोषित हुँदै २५–२५ हजारका दरले नगद पुरस्कार हात पारे।
अन्तर्राष्ट्रिय निर्णायकतर्फ पुरुषमा नेपालका भारतका सुन्दरमणि पटेल तथा महिलामा नेपालकी विमला भण्डारी उत्कृष्ट निर्णायक चुनिए। राष्ट्रिय निर्णायकको पुरुषमा रेशमकुमार पुन मगर तथा महिलामा विद्या राई उत्कृष्ट ठहरिए। उत्कृष्ट चारैले ५ हजारका दरले नगद पुरस्कार जिते।
समग्रमा ४० पदक जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) उत्कृष्ट टिम घोषित भयो। एनटीएले ५ स्वर्ण, १५ रजत र २० कांस्य जित्यो।
दुईदिने प्रतियोगितामा १२ राष्ट्रका ७ सय २१ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।