PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

भूकम्पको साढे दुई वर्षः सिन्धुपाल्चोकमा ८३ हजार पीडितमध्ये पाँच हजारले मात्र घर बनाए



पहिलोपोस्ट

भूकम्पको साढे दुई वर्षः सिन्धुपाल्चोकमा ८३ हजार पीडितमध्ये पाँच हजारले मात्र घर बनाए
तस्बिर : फाइल

चौतारा भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ। सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समयसीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन्।

भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चौतारास्थित सर्वे तामाङको घरको शिलान्यास गरी आवास निर्माणको शुभारम्भ गरेका थिए। तर लाभग्राहीले आवास निर्माणमा खासै चासो दिएका थिएनन्। अझै पनि बैंकमा जग्गा धितो राखेर ऋण नपाएका गरिबीको रेखामुनि रहेका कतिपय लाभग्राहीले भने आर्थिक अभावका कारण आवास निर्माण गर्न नसकी टहरामै बस्न बाध्य छन्।

गएको दशैँयता धेरैजसोले आवास निर्माण सुरु गरेका छन्। तर यसैबेला व्यापारीले मौका छोपेर सिमेन्ट र फलामे डण्डीको आकासिने गरी मूल्यवृद्धि गर्नुका साथै कृत्रिम अभावसमेत सिर्जना गरेका छन्।

केही समय पहिले रु ७५० मा पाइने ओपिसी सिमेन्टको मूल्य हाल रु एक हजारभन्दा माथि पुगेको छ भने फलामे डण्डीमा पनि व्यापक मूल्यवृद्धि भएको छ। यसरी मूल्यवृद्धि हुँदा पनि सरकार मौन बसेकामा लाभग्राही आक्रोशित भएका छन्।

बढी मूल्य तिर्दा पनि समयमा सामान नपाउँदा काम नै रोक्नु परेको भन्दै कतिपय लाभग्राहीले गुनासो गरेका छन्। यसका साथै ढुवानी भाडामा पनि व्यापक वृद्धि भएको छ। खोलामा गिट्टी र बालुवाको समेत अभाव भएको छ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सिन्धुपाल्चोकका अनुसार ३६ हजार २७५ जनाले आवास निर्माण कार्य सुरु गरेका छन्। जिल्लामा सुरुमा ७८ हजार ५३७ लाभग्राही अर्थात ९६.४८ प्रतिशतले पहिलो किस्ताको सम्झौता गरिसकेका छन्। पाँच हजार १२६ जनाले गुनासोमा नाम दर्ता गरेपछि हाल लाभग्राहीको संख्या ८३ हजार ६६३ पुगेको छ ।

त्यसमध्ये ७५ हजार ६५२ अर्थात ९६.१८ प्रतिशतले पहिलो किस्ता लगेका छन् भने २५ हजार ५१७ अर्थात ३२.४९ प्रतिशतलाई दोस्रो किस्ताको लागि सिफारिस गरिएको छ। त्यस्तै, चार हजार ८०३ जनालाइ तेस्रो किस्ताको सिफारिस गरिएकाले अझै दुई तिहाइले घर बनाउन बाँकी भएको सो कार्यालयका निमित्त प्रमुख टंक गौतमले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell