PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

काङ्ग्रेस उत्ताउलो भएर सत्ताको चलखेलमा लाग्नुहुन्न : शेखर कोइराला



अनन्तराज न्यौपाने

काङ्ग्रेस उत्ताउलो भएर सत्ताको चलखेलमा लाग्नुहुन्न : शेखर कोइराला

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आगामी संसद्मा आफ्नो पार्टीले सत्ताको चलखेलमा नलागी विपक्षमा बस्नुपर्ने बताएका छन्।

प्रेस युनियन मोरङको आयोजनामा विराटनगरमा बुधबार भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य डाक्टर कोइरालाले काङ्ग्रेसले विपक्षमै बस्नुपर्ने कुरामा जोड दिएका हुन्।

‘उत्ताउलो भएर सरकार बनाउन माओवादी वा अरू कोहीसित मिल्न जानु हुँदैन,’ कोइरालाले भने, ‘हामीलाई जनताले प्रतिपक्षमा बस्न म्यान्डेट दिएका छन्। त्यसैले हामीले विपक्षमा बसेर सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्नुपर्छ। गलत काम धेरै हुन थाल्यो भने सडकमा पनि उत्रनु पर्छ। खासमा यस अवधिमा हामीले आफ्नो सङ्गठनलाई मजबुत बनाउनु पर्छ।’

‘वाम गठबन्धनलाई तोड्ने काम हामीले गर्नु हुँदैन’, शेखरको भनाइ थियो, ‘गठबन्धनकै सरकारलाई पाँच वर्ष चल्न दिनु राम्रो हुन्छ। जनादेशको सम्मान पनि हुन्छ।’

कथं कदाचित् वाम गठबन्धन फुट्यो र वामको सरकार नै बनेन भने नि?

सञ्चारकर्मीको जिज्ञासामा कोइरालाको जवाफ थियो, ‘सरकार बनाउनै पर्ने परिस्थिति आयो भने त बनाउनु पर्छ तर सरकार बनाउनकै लागि नेपाली काङ्ग्रेसले ‘प्रो एक्टिभ’ हुनुहुँदैन र गठबन्धन तोड्ने प्रयास गर्नु हुँदैन।’
 
शेखरका अनुसार जनताले काङ्ग्रेसलाई वाम गठबन्धन तोड्ने म्यान्डेट दिएका होइनन्।
 
उनले भने, ‘एमाले र माओवादी एउटै पार्टी बनेर जाने अवस्था म देखिरहेको छैन, तर गठबन्धनको सरकार पाँच वर्ष चल्नुपर्छ भत्रे मेरो मान्यता छ।’

गठबन्धनको सरकारले परराष्ट्र नीतिलाई अत्यन्त सन्तुलित रूपमा लैजानुपर्ने आग्रह गर्दै शेखरले अलिकति पनि यताउता भयो भने अप्ठ्यारो र चेपुवामा पर्ने चेतावनी दिए।


अधिनायकवादको पहिलो खुड्किलो 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभासम्बन्धी विधेयक रोक्नु अधिनायकवादको पहिलो खुड्किलो हो भन्‍ने डाक्टर कोइरालाको प्रतिक्रिया थियो।

आमसञ्चार र नागरिक अगुवाको राष्ट्रव्यापी दबाबले गर्दा राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्न बाध्य हुनुपरेको उल्लेख गर्दै उनले अध्यादेश स्वीकृत गर्नुको विकल्प नै नरहेको बताए। 

देउवाले राजिनामा दिएको राम्रो

अहिलेको परिस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदबाट राजिनामा दिएको भए राम्रो सन्देश जाने उनले बताए ।

.‘अहिलेको संविधानअनुसार उहाँ प्रधानमन्त्री रहनु भएको छ, यो ठिकै छ,’ कोइरालाको भनाइ थियो, ‘तर हाम्रो संविधान पनि अलि जटिल नै छ। खासमा प्रजातान्त्रिक मुलुकमा चुनावबाट आफ्नो दल अल्पमतमा पर्यो‍ भने प्रधानमन्त्रीले तत्काल राजिनामा दिने प्रचलन छ। त्यसैले शेरबहादुरजीले पनि राजिनामा दिएर मार्ग प्रशस्त गरिदिएको भए राम्रो हुन्थ्यो।’


म पनि युवाभन्दा कम छैन

‘युवाहरूको चाहनालाई म अस्वीकार गर्दिन’, युवाहरूलाई नेतृत्व दिनुपर्छ भत्रे राष्ट्रव्यापी बहस चलिरहेका बेला तपाईंहरू किन अघि सर्नुहुन्छ भन्‍ने प्रश्नमा कोइरालाले भने, ‘तर म पनि कुनै युवाभन्दा कम छैन। मैले पनि एउटा सक्रिय युवककै जस्तो देशभरि घुम्ने काम गरिरहेको छु। खटिरहेको र साथीभाइलाई भेटिरहेको छु। नेपाली काङ्ग्रेस युवाको जाँगर र जोश र पाकाको होशले बनेको पार्टी हो।’

पार्टीमा नेतृत्वका लागि लायक छु

आफू नेपाली काङ्ग्रेस पार्टीको नेतृत्व गर्न लायक रहेको दाबी गर्दै नेता शेखरले आगामी महाधिवेशन सभापति चुन्नकै लागि मात्र हुनु नहुने धारणा प्रकट गरे।

कोइरालाले सभापति देउवाले अब पार्टीमा उपसभापति लगायतका पदमा मनोनयन गर्नु र विभागमा पदपूर्ति गर्नु गौण भइसक्यो भन्‍ने टिप्पणी गरे।

‘अब पदपूर्ति गर्ने काम भनेको थामथुम गर्ने प्रयास मात्र हो, यस्ता काम पहिले नै गर्नुपर्थ्यो,’ उनले भने, ‘अब सम्पूर्ण दिशानिर्देश कस्तो हुनुपर्छ भन्‍ने विषयमा महाधिवेशन हुनुपर्छ र महाधिवेशनबाटै योग्य नेतृत्वको चयन गर्नुपर्छ।’

कार्यकारी राष्ट्रपति म्यान्डेट होइन

नेता शेखरले वाम गठबन्धनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न होइन ५ वर्ष सरकार बनाउन मात्र जनादेश पाएको दाबी गरे।

‘वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने कतै उल्लेख छैन’, कोइरालाको चेतावनी थियो, ‘त्यसैले म्यान्डेटविपरीत उहाँहरू संविधान संशोधनमा लाग्नुभयो भने नेपाली काङ्ग्रेसले त्यसको विरोध गर्नेछ ।’

संविधान संशोधन भएर कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन हुने अवस्था आयो भने काङ्ग्रेस यस्तो चुनावमा सहभागी हुँदैन त?

जिज्ञासा शान्त पार्दै शेखरले भने, ‘यस्तो अवस्थामा त चुनावबाट भाग्ने प्रश्न आउँदैन। चुनावमा भाग लिनै पर्छ। तर संविधान संशोधन गर्ने बेलामा काङ्ग्रेसको असहमति रहन्छ।’

दुई महिनाभन्दा बढीको लामो विराटनगर बसाइपछि कोइराला बुधबार दिउँसो राजधानी फर्किएका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक तुरुन्त बोलाउनु पर्ने माग गरिरहेका कोइरालाले अब पनि सभापति देउवाले बैठक नबोलाए राजधानीमा साथीभाइसित सल्लाह गरेर हस्ताक्षर सङ्कलन गर्ने चेतावनी दिए।

शेखरलाई मङ्सिर २१ गते भएको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा एमालेका लालबाबु पण्डितले मोरङको क्षेत्र नम्बर ६ बाट ६ सय ७५ मतको अन्तरले पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell