
काठमाडौं: प्रदेश ७ को राजधानी दिपायल तोक्नु पर्ने माग गर्दै डोटीमा आन्दोलन चर्किएको छ। आन्दोलनको क्रममा जिल्ला आयूर्वेदिक कार्यालयमा तालाबन्दी गर्नुको साथै केही सरकारी कार्यालयका बोर्डहरुसमेत फालिएको छ भने यातायात आवगमन ठप्प पारिएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी केशब लामिछानेले पहिलोपोस्टसँग भने, ‘आन्दोलनको स्वरुप बदलिएसँगै आयूर्वेदिक कार्यालयमा तालाबन्दी गरेका छन्। ताला खोल्ने प्रयास भैरहेको छ।’
सरकारले धनगढीलाई अस्थायी मुकाम बनाउने प्रस्ताव गरेसँगै आन्दोलन चर्किएको हो।
डोटीका स्थानीयले यसको विरोधमा हड्ताल गरेपछि अछाम र बाजुरा जाने यात्रुहरु अलपत्र परेका छन्। यी दुईजिल्ला पुग्न डोटी भएर जानुपर्छ।
यात्रुहरुको आवगमनलाई लक्षित गर्दै आन्दोलन संघर्ष समितिले साझँ ५ बजेसम्म आन्दोलन गर्ने जनाएको छ।
यी दुई जिल्लाबाट धेरैजसो सवारी राती चल्ने गर्छन्। लामिछानेले भने, ‘यदि यात्रु आवगमनमा अप्ठेरो आए यात्रुलाई सुरक्षित रुपमा गन्तव्यतर्फ पुर्याउन जिल्ला प्रशासन कार्यालयले सहयोग गर्नेछ।’
धनगढीलाई प्रदेश मुकाम तोक्ने भनिएपनि अहिलेसम्म सरकारले कुनै प्रदेशको मुकाम नतोकिएको प्रधानमन्त्री कार्यालयले बुधबार दिउँसोमात्र स्पष्ट पारेको छ।