PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चीनको सहयोगमा रसुवाको टिमुुरेमा बन्दैछ सुविधासम्पन्न बन्दरगाह



दिनेश खड्का

चीनको सहयोगमा रसुवाको टिमुुरेमा बन्दैछ सुविधासम्पन्न बन्दरगाह

काठमाडौं : नेपाल - चीनबीचको व्यापारिक नाका रसुवागढीलार्इ अन्तर्राष्ट्रिय स्तरको बनाउन सुख्खा बन्दरगाह निर्माणको प्रकृया अगाडि बढेको छ।

टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको डिजाइन स्वीकृत भएको छ। यो सुख्खा बन्दरगाह चीनको सहयोगमा निर्माण हुनेछ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बन्दरगाहको डिजाइन स्वीकृत भइसकेको जानकारी दिँदै दुर्इ महिनाभित्रै ठेक्का दिइने जानकारी दिए।

'हामीले चिनियाँ परामर्शदाता कम्पनीले बनाएको डिजाइनलार्इ अन्तिम रुप दिइएको छ। अब छिट्टै दुर्इ देशको संयुक्त टोली बसेर ठेक्का प्रकृया अघि बढाइनेछ,' उनले भने। यसअघि तयार भएको डिजाइनमा नेपालले केही पूर्वाधार थपघटका लागि चिनियाँ कम्पनीलार्इ आग्रह गरेको थियो।उनका अनुसार यो बन्दरगाह दुर्इ वर्षमा निर्माण हुनेछ। अहिलेको डिजाइनका आधारमा बन्दरगाह निर्माण गर्ने र आवश्यक परे अरु पुर्वाधार थप्दै लगिने बस्नेतले बताए।

सन् २०१४ मा निर्माणका लागि सम्झौता भएको उक्त सुक्खा बन्दरगाहको डिजाइन बनाउन २०१५ डिसेम्बरमा नेपाल र चीनबीच सहमति भएको थियो।

चीनको उच्च प्राथमिकतामा बन्दरगाह चीन सरकारले रसुवागढी नाका नजिकै बन्न लागेको सुख्खा बन्दरगाहलार्इ उच्च प्राथमिकतामा राखेको छ।
तिब्बतको केरुङबाट रसुवागढीसम्मको दुरी २६ किलोमिटर पर्छ। सुख्खा बन्दरगाह र रसुवागढीबीचको दुरी साढे दुर्इ किलोमिटर छ। चीनको सिगात्सेदेखि केरुङसम्म साढे चार सय किलोमिटर दुरी छ।

अहिले केरुङ-काठमाडौ रेलमार्ग चर्चामा रहेको छ। चीन केरुङ हुँदै काठमाडौ-पोखरा-लुम्विनी रेलमार्ग निर्माण गर्न सकारात्मक छ। त्यसै कारण पनि यो बन्दरगाह रणनीतिक महत्वका रुपमा चीनले हेरेको छ। करिब ८ हेक्टर क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ। चिनियाँ परामर्शदाताको डिजाइन अनुसार बन्दरगाहमा पाँच तले प्रशासनिक भवन, ३५० वटा गाडी अटाउने पार्किङ स्थल, ७५० वर्गमिटर क्षेत्रफलमा गोदाम, मालसामान चेक जाँच गर्ने टर्मिनल, चेकपोस्ट, पानी, विद्युतका लागि आवश्यक पुर्वाधार हुनेछन्। सरकारले रसुवागढीसम्म पुग्ने बाटो बिस्तार र स्तरोन्नती गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell